राष्ट्र बैङ्कका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले निक्षेपको ब्याजदर घटाउन सुझाव दिएपछि केन्द्रीय बैङ्कको निर्देशनमा बैङ्कहरु ब्याजदर घटाउन सहमत भएका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दबाब दिएपछि वाणिज्य बैङ्कहरुले ब्याजदर घटाएका छन् । बैङ्कहरुले शुक्रबार मुद्दती र साधारण निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ बचतकर्ताले बैङ्कमा पैसा राख्दा कम ब्याज पाउने भएका छन् । यसअघि बैङ्कमा पैसा राख्नेले पुरानै ब्याजदर पाउने छन् ।
कुमारी बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, सेन्चुरी कमर्शियल बैङ्क, प्रभु बैङ्क, हिमालयन बैङ्क, नेपाल एसबीआई बैङ्कले ब्याजदर घटाएको जानकारी गराएका छन् ।
यस्तै सनराइज बैङ्क, सिद्धार्थ बैङ्क, नबिल बैङ्क, लक्ष्मी बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्कलगायतले ब्याजदर घटाएको जानकारी गराएका छन् । बिहीबार नेपाल राष्ट्र बैङ्क र नेपाल बैङ्कर्स सङ्घबीच भएको छलफलमा मुद्दती निक्षेपको ब्याजदर एक अङ्कमा झार्न सहमति भएको थियो । राष्ट्र बैङ्कका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले वित्तीय सन्तुलन कायम गर्न पहिलो चरणमा निक्षेपको ब्याजदर घटाउन सुझाव दिएपछि केन्द्रीय बैङ्कले ब्याजदर घटाउन निर्देशन दिएको हो ।
केन्द्रीय बैङ्कको निर्देशनअनुसार बैङ्कहरुले व्यक्तिगततर्फ ९.२५ र संस्थागतलाई ८.५ प्रतिशत ब्याजदर कायम गरेका छन् । यस्तै साधारण बचत खातामा ६.५ प्रतिशत ब्याज दिन बैङ्कर्स सहमत भएका हुन् । यसअघि व्यत्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशतसम्म पुर्याएपछि केन्द्रीय बैङ्कले ब्याजदर घटाउन दबाब दिएको हो ।
डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिको सुझावका आधारमा ब्याजदर घटाउन बैङ्कहरुलाई भनेको अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । समितिले दिएको प्रतिवेदन कार्यन्वयन मात्र गरेको उनले जानकारी दिए ।
वित्तीय क्षेत्र सन्तुलनमा ल्याउने : अनलराज भट्टराई
ब्याजदर घटेर एक अङ्कमा आएकाले अब वित्तीय क्षेत्र सन्तुलनमा आउने अवस्था सिर्जना भएको पूर्वबैङ्कर अनलराज भट्टराई बताउँछन् । क्यापिटल नेपालसँग कुरा गर्दै भट्टराईले वित्तीय क्षेत्र संयमित देखिएको र यसलाई निरन्तरता दिनुपर्छ भने ।
‘निक्षेपमा १३ प्रतिशत ब्याज दिएर बैङ्कले व्यवसायीबाट २० प्रतिशतसम्म कर्जाको ब्याज लिनुपर्ने अवस्था थियो, त्यो अन्त्य भएको छ,’ उनले भने, ‘ब्याजदर घट्न केही समय लाग्न सक्छ तर वित्तीय क्षेत्रमा ब्याजदरको त्राश भने हटेको छ ।’
केन्द्रीय बैंकले आधार दरलाई अझ फराकिलो बनाउनु पर्ने उनको भनाई छ । सुरुवाती राम्रो देखिएको तर ग्राहकले मागेको जति कर्जा पाउने अवस्था सिर्जना हुर्नुपर्ने उनको भनाई छ ।
‘ब्याजदर बढ्ने क्रममा ब्रेक लागेको छ तर लगानीयोग्य पुँजीको समस्या ज्यँको त्युँ छ, यसलाई समधान गर्नुपर्छ अनि मात्र दीगो वित्तीय स्थायित्व हुने छ,’ भट्टराईले भने ।