एक वर्षभित्र नाै वाणिज्य बैङ्कमा सीईओ परिवर्तन : छ सीईओ नयाँ अनुहार, दुई पुरानै र एकमा खोजी

खासगरी बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले लगातार दुई कार्यकालभन्दा बढी समय काम गर्न नपाउने व्यवस्थाले यो वर्ष धेरै सीईओहरु परिवर्तन भएका हुन् ।

काठमाडौं । बितेको एक वर्षमा ९ ओटा वाणिज्य बैङ्कमा व्यवस्थापकीय नेतृत्व परिवर्तन भएको छ । त्यसमध्ये ६ ओटा बैङ्कमा नयाँ अनुहार प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा उदाएका छन् भने दुई बैङ्कमा पुरानै अनुहारले निरन्तरता पाएको छ । एउटा बैङ्कले भने नयाँ सीईओ नियुक्ती प्रक्रिया अघि बढाएको छ । वर्ष २०१८ मा सीईओ परिवर्तन हुने बैङ्कहरुमा मेगा बैङ्क नेपाल, लक्ष्मी बैङ्क, माछापुच्छ्रे बैङ्क, एनआईसी एसिया बैङ्क, सेन्चुरी कमर्सियल बैङ्क, नबिल बैङ्क, कृषि विकास बैङ्क तथा ग्लोबल आईएमई बैङ्क छन् । नेपालमा २८ ओटा वाणिज्य बैङ्क सञ्चालनमा छन् ।

खासगरी बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले लगातार दुई कार्यकालभन्दा बढी समय काम गर्न नपाउने व्यवस्थाले यो वर्ष धेरै सीईओहरु परिवर्तन भएका हुन् । केन्द्रीय बैङ्कले एकीकृत निर्देशनमार्फत् वाणिज्य बैङ्कका सीईओहरुलाई ‘कुलिङ पिरियड’का रुपमा ६ महिना कुनै पनि बैङ्कमा जान नपाउने व्यवस्था गरेपछि पुराना सीईओभन्दा नयाँ सीईओले अवसर पाउने क्रम बढेको हो । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाले भावी सीईओका रुपमा डेपुटी सीईओ नियुक्त गर्न थालेका छन् । त्यसले नयाँ अनुहार बैङ्कमा भित्रिन थप सहज भएको छ ।

अर्कोतिर बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक समितिले आफूअनुकूल संस्था चलाउन खोज्दा सञ्चालक समिति र व्यवस्थापनबीच द्वन्द्व बढ्ने गरेको र पुराना सीईओहरुले वित्तीय क्षेत्र छोड्ने क्रम बढेको छ । पुराना सीईओहरुले सञ्चालक समितिको दबाबलाई बेवास्ता गरेपछि बैङ्क व्यवस्थापन नयाँ सीईओतर्फ आकर्षित भएको पाइन्छ । यद्यपि नयाँ अनुहारहरु पनि व्यवस्थापनको दबाबमा नपरी बैङ्क छाड्ने गरेको घट्ना भने बाहिर आइरहेका छन् ।

त्यसो त एकीकृत निर्देशनले बैङ्क तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन तीन महिनाभन्दा बढी समय खाली राख्न नहुने व्यवस्था गरेको छ । तर, बैङ्क तथा वित्तीय संस्थाहरुले यस्तो नियमलाई पटक पटक उल्लङ्घन गरेको पाइन्छ । पुँजी बृद्धिमार्फत् ठूला आकारमा गएका बैङ्कहरुलाई नयाँ अनुहारले राम्रोसँग परिचालन गर्न नसके वित्तीय क्षेत्रमा ठूलो दुर्घटना निम्तिन सक्ने खतरा पनि त्यत्तिकै छ । यसतर्फ नियामक निकायले चनाखो भएर हेर्नुपर्ने आवश्यकता रहेको बैङ्करहरु नै बताउँछन् ।

केही समयअघि मात्रै लक्ष्मी बैङ्कमा सीईओ बनेका अजयबिक्रम शाह नयाँ सीईओका रुपमा उदाएका छन् । अघिल्लो कार्यकालमा पहिलो पुस्ताकै सीईओका रुपमा लक्ष्मीको सीईओ बनेका सुदेश खालिङ आफ्नो ४ वर्षे कार्यकाल सकाएर बाहिरिएपछि शाहको बढुवा गरिएको हो । माछापुच्छ्रे बैङ्कको सीईओ सुमन शर्मा पनि नयाँ अनुहार हुन् । वित्तीय क्षेत्रमा दुई दशक बिताएका उनी वाणिज्य बैङ्कको व्यवस्थापन सम्हाल्न भने पहिलो पटक माछापुच्छ्रे पाएका छन् ।

पछिल्लो पटक सीईओ खाली भएको बैङ्कका रुपमा सिटिजन्स बैङ्क इन्टरनेशनल परेको छ । सिटिजन्सको स्थापनामै विशेष सक्रियता देखाएका राजनसिंह भण्डारीले सीईओबाट अवकाश लिएपछि डेपुटी सीईओ गणेशराज पोखरेललाई कायममुकायम सीईओको जिम्मेवारी दिइएको छ । सिटिजन्सको अबको सीईओ नै उनी भएको बताइएको छ । यद्यपि बैङ्क सञ्चालक समितिले यसबारे अझै केही जानकारी दिएको छैन भने पूर्व सीईओ भण्डारीलाई बैङ्क सञ्चालक समितिले सञ्चालक समितिको प्रमुख सल्लाहकारको उपाधि दिएको छ ।

यो वर्ष नयाँ सीईओ खोजी गर्नेको सूचीमा मेगा बैङ्क पनि पर्छ । मेगाले बैङ्कको डेपुटी सीईओ अनुपमा खुँजेलीलाई नयाँ सीईओको जिम्मेवारी दिएको हो । खुँजेली नेपालका वाणिज्य बैङ्कहरुमा सीईओको जिम्मेवारी सम्हाल्ने दोस्रो महिला हुन् भने निजी क्षेत्रको वाणिज्य बैङ्कमा पहिलो । यसअघि राष्ट्रिय वाणिज्य बैङ्कमा शिवादेवी काफ्लेले प्रबन्ध सञ्चालकको रुपमा बैङ्कको व्यवस्थापन सम्हालेकी थिइन् ।

लामो समय सीईओविहीन रहेको एनआईसी एसियाले कायममुकायम सीईओको जिम्मेवारी सम्हालेका रोशनकुमार न्यौपानेलाई ४ वर्षका लागि जिम्मेवारी दिएको छ । एनआईसी एसियामा नयाँ अनुहारका रुपमा सीईओ बनेका लक्ष्मण रिसालले बैङ्क सञ्चालक समितिको दबाब खेप्न नसकेपछि राजीनामा दिएका थिए । त्यसलगत्तैदेखि एनआईसी एसियाले नयाँ सीईओको खोजी गर्दै पटक पटक सार्वजनिक विज्ञापन गरेपनि केही सिप नलागेपछि ९ महिनामा न्यौपाने सीईओ बनेका हुन् । न्यौपाने सीईओ भएसँगै नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)को रुपमा बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेलाई बढुवा गरेको छ । यो वर्ष सीईओ खाली भएपछि लामो समय बिना सीईओ काम गर्ने बैङ्कका रुपमा पनि एनआईसी एसियाले रेकर्ड राखेको छ ।

वर्ष २०१८ सुरु हुनै लाग्दा ग्लोबल आइएमई बैङ्कको सीईओमा जनकराज शर्मा पौड्याल नियुक्त भएका थिए । त्यहाँका सीईओ अनिल ज्ञवालीले छाडेपछि बैङ्कभित्रैबाट पौड्याललाई गत वर्ष डिसेम्बरमा जिम्मेवारी दिइएको थियो । उनलाई गत एक वर्षमा उदाएका नयाँ सीईओ मान्न सकिन्छ । त्यसैगरी ग्लोबलले डेपुटी सीईओमा महेशप्रसाद ढकाललाई लगेको छ ।

माछापुच्छ्रे बैङ्कका पूर्व सीईओ तुलसीराम गौतमको फेरि बैङ्किङ क्षेत्रमा ‘इन्ट्री’ भएको छ र उनले सेन्चुरी कमर्सियल बैङ्कको सीईओको जिम्मेवारी लिएका छन् । बीचमा केही समय उनी अन्य क्षेत्रमा सक्रिय थिए ।

यसअघि मेगा बैङ्कका सीईओ रहेका अनिलकेशरी शाहले नबिल बैङ्कको सिधै सीईओको जिम्मेवारी नपाउँदा उनी डेपुटी सीईओका रुपमा भित्रिएका थिए । त्यतिबेला वित्तीय क्षेत्रमा नैतिकता हराएका व्यक्ति भन्दै शाहको आलोचनासमेत भएको थियो । कुलिङ पिरियडका कारण नबिल बैङ्कमा शाहले ६ महिनासम्म कामु सीईओको रुपमा काम गरेका थिए ।

राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश पाएका लीलाप्रकाश सिटौलाले पनि यसै वर्ष कृषि विकास बैङ्कको सीईओबाट बिदा लिएका छन् । तत्कालका लागि उनी पनि बैङ्किङ क्षेत्रबाट बाहिरै बस्नुपर्ने छ भने त्यहाँ सीईओका लागि प्रक्रिया अघि बढाइएको छ । सरकारको पनि लगानी रहेको कृषि विकास बैङ्कमा सरकारी इच्छाअनुसार बैङ्क सञ्चालक समितिले सीईओ नियुक्ती गर्ने गरेको आरोप खेप्दै आएको छ । बैङ्कले मागेको सीईओ आवेदनमा १७ जनाले आवेदन दिएका छन् ।

त्यसो त सिद्धार्थ बैङ्कमा सीईओ बनेका शम्भुनाथ गौतम पनि नयाँ अनुहार हुन् । उनले २०७४ साउनमा सिद्धार्थको जिम्मेवारी लिएका थिए । त्यसैगरी एनएमबी बैङ्कका सुनिल केसी पनि पहिलो पुस्ताका सीईओ हुन् । उनले २०७३ चैतदेखि एनएमबी बैङ्कको जिम्मेवारी लिएका छन् । केसीले जिम्मेवारी लिएपछि बैङ्कले लन्डनबाट प्रकाशित हुने द बैङ्कर म्यागजिनबाट दुई दुई पटक ‘द बैङ्कर अफ दि इयर’ समेत थापेको छ ।

त्यसो त अहिले राष्ट्रिय वाणिज्य बैङ्कका सीईओ किरण श्रेष्ठ, नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कका सीईओ रमेशराज अर्याल, सिभिल बैङ्कका सीईओ गोविन्द गुरुङ पनि नयाँ पुस्ताका सीईओको रुपमा चिनिन्छन् ।

उता, ग्लोबल आईएमई छाडेर बसेका अनिल ज्ञवाली नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा)को सीईओ बनेका छन् । नेपालको पूर्वाधार विकासमा सघाउने गरी २० अर्ब रुपैयाँ लगानीमा खुलेको र छिट्टै सञ्चालनको तयारीमा रहेको इन्फ्रास्ट्रक्चरले नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा राष्ट्रिय वाणिज्य बैङ्कमा डेपुटी सीईओ रहेका भुपेन्द्र पाण्डेलाई लगेको छ । उता नबिल बैङ्क छाडेका शशिन जोशी भने जावलाखेल गु्रपको सीईओ भएका छन् ।