इन्भेष्टमेन्ट बैङ्कले आउदो पुस २९ गते बस्ने ३२ औं साधारणसभामा सेयर दलालको व्यवसाय सुरु गर्नका लागि विशेष प्रस्ताव लैजाने भएको छ । सभाबाट पारित भएपछि बैङ्कले सेयर दलालका लागि कम्पनी खोल्ने जानकारी दिएको छ ।
काठमाडौं । विभिन्न ३ ओटा वाणिज्य बैङ्कले सेयर दलाल (सेयर ब्रोकर) को व्यवसाय सुरु गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैङ्क, सानिमा बैङ्क र जनता बैंकले सेयर दलालको काम गर्न लागेका हुन् । बैङ्कहरुले सहायक कम्पनी स्थापना गरेर सेयर दलालको काम गर्ने भएका छन् ।
इन्भेष्टमेन्ट बैङ्कले आउदो पुस २९ गते बस्ने ३२ औं साधारणसभामा सेयर दलालको व्यवसाय सुरु गर्नका लागि विशेष प्रस्ताव लैजाने भएको छ । सभाबाट पारित भएपछि बैङ्कले सेयर दलालका लागि कम्पनी खोल्ने जानकारी दिएको छ ।
नेपाल धितोपत्र बोर्डले सेयर दलालको काम गर्न बैङ्कलाई खुला गरेपछि नेपाल इन्भेष्टमेन्ट, सानिमा र जनताले पनि सहायक कम्पनी स्थापना गर्न लागेका हुन् । बोर्डले गत वर्ष नै सेयर दलालको काम खुला गरे पनि बैङ्कले भरखरै मात्र प्रक्रिया अघि बढाएका हुन् ।
सभामा बैङ्कले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । बैङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभाले पारित गर्ने छ । हालसम्म लाभांश घोषण गर्ने बैङ्कमध्ये नेपाल इन्भेष्टमेन्टले सबैभन्दा बढी दिने भएको छ ।
बैङ्कले गत आर्थिक वर्षमा ३ अर्ब ७२ करोड रुपैयाँ खुदनाफा गरेको थियो । सभाले उपर्युक्त बैङ्क तथा वित्तीय संस्थालाई प्राप्ति वा मर्जर गर्ने र सोका लागि सम्पत्ति, दायित्व मूल्याङ्कन (डीडीए) गर्ने प्रस्ताव सभामा लैजाने भएको छ ।
यस्तै सानिमा बैङ्कले पनि सेयर दलालको काम सुरु गर्न साधारणसभामा प्रस्ताव लैजाने भएको छ । बैङ्कको यही महिनामा साधारणसभा हुँदैछ । साधारणसभाबाट पारित भएपछि सेयर दलालको काम सुरु गर्ने बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालले बताए ।
जनता बैङ्कले पनि आफैँ वा सहायक कम्पनीमार्फत सेयर दलालको व्यवसाय सुरु गर्न साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । बैङ्कको आगामी पुस २९ गते बस्ने नवौं साधारणसभामा सेयर दलालको व्यवसाय सुरु गर्न प्रस्ताव लैजाने भएको हो । बैङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८.५ प्रतिशत अर्थात ६८ करोड रुपैयाँ नगद लाभांश सभाले पारित गर्न छ ।