पाँच करोड लागतमा पक्की पुल

पुलको शनिबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एक कार्यक्रमका बीच शिलान्यास गर्दै सङ्घ, प्रदेश तथा स्थानीय तहको निर्वाचनको क्रममा जनतासँग व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन आरम्भ भएको बताए । 

कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेबल पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारकोे पाँच करोड चार लाख २४ हजार १७३ रूपैयाँकाे लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ ।

पुलको शनिबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एक कार्यक्रमका बीच शिलान्यास गर्दै सङ्घ, प्रदेश तथा स्थानीय तहको निर्वाचनको क्रममा जनतासँग व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन आरम्भ भएको बताए ।

पुल निर्माणको लागि गत साउन २ गते मित्रसञ्जीवनी निर्माण सेवासँग ठेक्का सम्झौता भएको सो पुल २०७६ फागुन ३० गतेभित्र तयार गरिसक्ने सम्झौतामा उल्लेख छ ।

पुल नहुँदा वर्षायाममा वडाका कुईबाङ, सैँतीखोला, इयुँ, तक्रो, सिदीङ, प्रम्धु तथा घलेलका बासिन्दा यातायातको सम्पर्कबाट विमुख हुने गरेको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए ।

पुल तोकिएकै मितिमा सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले वडाध्यक्ष क्षेत्रीको संयोजकत्वमा वडाका सबै जनप्रतिनिधि सदस्य रहेको अुनगमन समिति निर्माण गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराल (जीवन)ले जनप्रतिनिधिको हिसाबले पनि आफूले पुल तोकिएकै मितिमा सम्पन्न गर्न सहयोग गर्ने बताए ।

गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले गाउँपालिकाको समृद्धिसँग जाडिएको पुल तोकिएको मितिमा गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण कम्पनीलाई गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । रासस