माथिल्लो तामाकोसीको लट २ को काम एन्ड्रिज हाइड्रोले गर्ने, पुस २३ मा त्रिपक्षीय सम्झौता हुँदै

पुस २३ गतेसम्म लट २ को बाँकी सम्पन्न गर्न प्रवर्द्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेड र हालको ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेड र एन्ड्रिजबीच त्रिपक्षीय सम्झौता हुने भएको छ ।

काठमाडौं । निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लट २ को बाँकी काम अष्ट्रियाको एन्ड्रिज हाइड्रोले पूरा गर्ने भएको छ ।

पुस २३ गतेसम्म लट २ को बाँकी सम्पन्न गर्न प्रवर्द्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेड र हालको ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेड र एन्ड्रिजबीच त्रिपक्षीय सम्झौता हुने भएको छ ।

हाल आयोजनाको लागत मूल्याङ्कन भइरहेको र जनवरी ७ सम्म ठेक्का सम्झौता गर्ने तामाकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले बताए । लट २ को ठेक्का लिएको टेक्सम्याको इण्डिया लिमिटेड एन्ड्रिजलाई बाँकी कामको ठेक्का दिन सहमत भएकाले प्रक्रिया अघि बढेको उनले स्पष्ट पारे । कसरी कुन दरमा गराउने भन्नेमा छलफल भइरहेको श्रेष्ठले जानकारी गराए । थप भार नपर्ने गरी बाँकी कामको ठेक्का दिइने उनले सुनाए ।

लट २ अन्तर्गत हाइड्रो मेकानिकलकोको काम गर्न नसकेपछि तामाकोसीले विकल्पमा बाँकी काम एन्ड्रिजलाई दिन लागेको हो । सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको छ ।

आयोजना निर्माणको सुरुदेखि नै लट–२ को ठेकेदारले काममा ढिलाई गर्दै आएको छ । लट–२ अन्तर्गत बाँधको गेट निर्माण, भर्टिकल पेनस्टक साफ्ट (ठाडो सुरुङजडानलगायत काम पर्छ । यस लटमा पेनस्टकको सम्पूर्ण काममध्ये तल्लो पेनस्टकको हिस्सा करिब ७४ प्रतिशत हुन्छ । चार लटमा बाँडेर सुरु भएको निर्माणको अन्य काम करिब अन्तिम चरणमा छ ।

आयोजनाको ९७ प्रतिशत काम पुरा भइसक्दा टेक्सम्याकोले गर्दा ढिलाइ हुन पुगेको हो । आयोजना निर्माणमा अहिलेसम्म करिब ४३ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले विद्युतगृह गोंगरदेखि खिम्तीसम्म ४७ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ ।