५ अर्ब लगानीमा १९ मेगावाटको मध्य त्रिशूली गङ्गा आयोजना निर्माण हुँदै, ५ वर्षमा बिजुली बल्ने

सम्झौताअनुसार आयोजनाले विसं २०८० जेठ १७ सम्ममा निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने उल्लेख छ । आयोजना क्यू सेभेन्टी मोडेलमा रहने छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजनासँग विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) गरेको छ ।पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि र विद्युत प्राधिकरणबीच १९.४१ मेगावाट क्षमताको आयोजनाबाट उत्पादन हुने विद्युत् खरीदका लागि पीपीए भएको हो ।

दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुक्खायाममा मङ्सिर १६ देखि जेठ १५ सम्म उत्पादन हुने विद्युत् ८ रुपैयाँ ४० पैसा र वर्षायाममा जेठ १६ देखि मङ्सिर १५ सम्म उत्पादन हुने विद्युत् ४ रुपैयाँ ४० पैसामा खरीद गर्ने आयोजनाको प्रवर्द्धक पर्फेक्ट इनर्जीले जनाएको छ ।

सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारी तथा प्रवर्द्धक कम्पनीका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवसीय इञ्जिनीयर देवेन्द्र बस्नेतले हस्ताक्षर गरेका छन् । प्रवर्द्धक कम्पनीका आवासीय इञ्जिनीयर बस्नेतका अनुसार दुई पक्षबीच गत मङ्गलबार पीपीए पत्रमा हस्ताक्षर भएको र बाँकी रहेको ‘अफिसियल’ प्रक्रिया आइतबार पूरा भएको हो ।

सम्झौताअनुसार आयोजनाले विसं २०८० जेठ १७ सम्म निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने उल्लेख छ । आयोजना क्यू सेभेन्टी मोडेलमा रहने छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बाँध बाधेर विदुर नगरपालिका–७ तुप्चे ९ बेत्रावतीमा विद्युत् उत्पादन गृह रहने छ । आयोजना बनाउन ५ अर्ब १२ करोड रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

आयोजनाका तर्फबाट प्रवर्द्धक कम्पनीको ३० प्रतिशत लगानी रहने छ भने बाँकी लगानीको लागि वित्तीय व्यवस्थापनको प्रक्रियामा छ । रासस