मेगा र सिटिजन्स बैङ्कले आउँदो ३० गते हुने वार्षिक साधारणसभामा सहायक कम्पनीमार्फत सेयर दलाल व्यवसाय सुरु गर्ने प्रस्ताव लैजाँदै छन् ।
काठमाडौं । मेगा बैङ्क र सिटिजन्स बैङ्कले सेयर दलाल (सेयर ब्रोकर) को व्यवसाय सुरु गर्ने भएका छन् । सहायक कम्पनीमार्फत सेयर दलाल व्यवसाय सुरु गर्न दुवै बैङ्कले साधारणसभामा विशेष प्रस्ताव लैजाने भएका हुन ।
मेगाले पुस ३० गते बस्ने आठौं वार्षिक साधारणसभामा सहायक कम्पनीमार्फत सेयर ब्रोकरेजको काम गर्ने प्रस्ताव लैजाने भएको छ । प्रस्ताव सभाबाट पारित भएपछि काम सुरु गर्ने मेगाले जनाएको छ ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट ७.८५ प्रतिशत लाभांश दिने प्रस्ताव सभाले पारित गर्ने छ । जसअनुसार ६.८५ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर दिने प्रस्ताव बैङ्कको छ ।
यस्तै सिटिजन्सले पनि पुस ३० गते हुने १२ औं साधारणभामा सेयर ब्रोकरेज व्यवसाय सुरु गर्ने प्रस्ताव लैजाने भएको छ । बैङ्कले सहायक कम्पनीमार्फत सेयर ब्रोकरेजको काम सुरु गर्ने जानकारी दिएको छ । बैङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।
एनआईसी एसिया बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, सानिमा बैङ्क र जनता बैङ्कले सेयर दलालको काम गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले सेयर दलालको लाइसेन्स खुला गरेपछि बैङ्कहरुले धमाधम वार्षिक साधारणसभामा प्रस्ताव लैजान थालेका छन् । बोर्डले गत वर्ष नै सेयर दलालको काम खुला गरे पनि बैङ्कले भरखरै मात्र प्रक्रिया अघि बढाएका हुन् ।