अनसन, सेयर बजार र विकास खर्च

जुन सन्दर्भमा जुन माग राखेर आमरण अनशनको मञ्चन भएको थियो त्यो आँफैमा समय गुज्रिसकेपछिको उपचारजस्तो भएको थियो । समग्रमा जे जे भने पनि गुदी कुरा भने लगानीकर्ताको अर्बौं रुपैयाँ गुम्यो र यो अवस्थामा ल्याउने काम अर्थमन्त्री डा. युवराज खतिवडाले गरे भन्ने आशय थियो । वास्तवमा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा आँफैले गर्ने हो । अरुलाई दोष लगाएर उम्किने ठाउँ रहँदैन ।

निकै रस्साकस्सीपछि सोमबार सेयर बजार सामान्य रुपमा झरेको छ । निकै तामझाम र लगानीकर्ताको उच्च मनोबलले आइतबार एकाएक ३२ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार घटेको हो । एकै दिनमा लगानीकर्ताको मनोबल कसरी खस्किन सकेको होला ? के फेरि अर्थमन्त्री डा. युवराज खतिवडासहितका अधिकारीहरुको राजीनामा वा बर्खास्तगीको माग अघि बढ्छ ?

विश्वमा सेयर बजार सुधारका लागि लगानीकर्ताले कस्ता कस्ता काम गरे त्यो अध्ययनको विषय बन्ला । यस्ता गतिविधिमा नेपालको सेयर बजार सुधार्न भन्दै आमरण अनशन बस्नेहरुले खोजी गर्लान् नै । गत साता (मङ्सिर २३ देखि पुस १ गतेसम्म) रिले अनशन र (पुस २ देखि ५ गते) आमरण अनशन भयो तथा बिनाकारण स्थगित भयो । जुन सन्दर्भमा जुन माग राखेर आमरण अनशनको मञ्चन भएको थियो त्यो आँफैमा समय गुज्रिसकेपछिको उपचारजस्तो भएको थियो । समग्रमा जे जे भने पनि गुदी कुरा भने लगानीकर्ताको अर्बौं रुपैयाँ गुम्यो र यो अवस्थामा ल्याउने काम अर्थमन्त्री डा. युवराज खतिवडाले गरे भन्ने आशय थियो । वास्तवमा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा आँफैले गर्ने हो । अरुलाई दोष लगाएर उम्किने ठाउँ रहँदैन । यद्यपि नीतिगत रुपमा गलत कदम चालिएको अवस्थामा सहजै त्यसलाई फिर्ता लिने सामथ्र्य पनि सरकारले राख्छ र विगतमा बल्झिएको कर प्रकरणलाई लिन सकिन्छ । तर, जुवाडीकै शैलीमा पौंठेजोरी खोजेजस्तो गरी लगानीकर्ताले व्यवहार देखाउनु कदाचित मनासिब हुँदैन ।

 

जुवाडीकै शैलीमा पौंठेजोरी खोजेजस्तो गरी लगानीकर्ताले व्यवहार देखाउनु कदाचित मनासिब हुँदैन ।

 

नेपालका लगानीकर्ताले सत्याग्रहको अदम्य साहस भने देखाए । तर, विगतमा आन्दोलनको आँधीबेहरी ल्याएको र राजा ज्ञानेन्द्रसमेत फालेको ध्वाँस दिँदै नाथे खतिवडा को हुन् र भनेर डुकार्नेहरु बजारमा सामान्य सुधारको गुन्जायस देखिएपछि कसरी रुपैयाँ छिटो कमाउने भन्ने होडमा उठेर हिँडे । अनशन वा आन्दोलनले राजनीतिक माग पूरा गर्न सक्छ । भारतमा भारत छोडो आन्दोलन सफल बनाउन महात्मा गान्धीको सत्याग्रहले मात्रै काम गरेको थिएन, त्यसका पछाडि अरु धेरै कुरा सामेल थिए । नेपालमै पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले पञ्चायतका विरुद्ध सत्याग्रह छेड्दा सँगै अनेकन घट्नाक्रम भएका थिए । तर, अन्तिम समयमा सुधारिएको पञ्चायत कि बहुदल भनेर निर्वाचनमा जानु परेको थियो । नेपालमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति हटाउन भन्दै डा. गोविन्द केसी अन्तहीन आमरण अनशनको यात्रामा निस्किए तर, अझै त्यसले निकास पाइसकेको छैन । १७औं पटक अनसन बस्ने चेतावनी दिइरहेका छन् । केसीले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की हटाउन आमरण अनशन प्रयोग गरे । तर, उनी असफलसिद्ध भए र सर्वोच्च अदालतले कार्कीको योग्यतामा प्रश्न उठाउँदै अयोग्य ठहर ग¥यो । यद्यपि सर्वोच्चलाई यो निर्णयसम्म पुग्न केसीको जोडबलले काम गरेको छ भन्न सकिन्छ ।

जनस्तरमा गलत काम गरें भन्ने आभास मिल्यो भने राजनीतिक नेतृत्वबाट जतिखेर पनि बाहिरिनुपर्ने अवस्था आउँछ । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी हटे/हटाइए । त्यसका लागि व्यक्तिकेन्द्रित आम्दोलनको आवश्यकता पर्दैन । तर, नेपालका सेयर लगानीकर्ता अर्थमन्त्री डा. खतिवडासहित नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेको राजीनामा वा बर्खास्तगी माग्दै गरिएको आमरण अनशनले कुनै निकास पाएन ।

 

सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी हटे/हटाइए । त्यसका लागि व्यक्तिकेन्द्रित आम्दोलनको आवश्यकता पर्दैन ।

 

मुद्रा र पुँजी बजारको समस्या पहिचान गरी समाधानको उपाय दिन नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले अर्थमन्त्री डा. युवराज खतिवडालाई गत बुधबार तत्कालैदेखि २०७६ पुसभित्र गर्नुपर्ने नीतिगत सुधारसहितको ५८ बुँदे प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिवेदनपछि अर्थमन्त्री खतिवडाले पनि तदनुरुपका निकायलाई समयबद्ध हिसाबले काम गर्न निर्देशन दिएको पनि बताइएको छ । प्रतिवेदन बुझाएपछि केही लगानीकर्ता र उनीहरु आबद्ध संस्थाहरुले सेयर बजारमा उछाल आउने भनेर दाबी गरिरहेका छन् । यसैलाई लगानीकर्ताको समूहले उपलब्धि भनेर व्याख्या गरिरहेका छन् । सुझावमा दिइएका कुन विषयले अर्थतन्त्रमा कस्तो असर गर्छ भन्ने अध्ययन नगरी दिइएका ती सुझावका बारेमा विभिन्न कोणबाट टीकाटिप्पणी सुरु भइसकेको छ । चालू वर्ष २० प्रतिशत कर्जा विस्तारको लक्ष्य लिइएको चार महिनामा २४.५ प्रतिशत पुगेको छ भने भुक्तानी सन्तुलनको अवस्था दयनीय छ र पछिल्लो ४ महिनामा ५७ अर्ब रुपैयाँ सोधनान्तर (मुलुकभित्र आउने रकम र मुलुकबाहिर जाने रकमको अन्तर) घाटामा छ । यस्तो अवस्थामा ऋण विस्तारकारी कार्ययोजना कसरी अघि बढ्ला हेर्नैपर्ने हुन्छ ।

नीतिगत सुधार भए पनि बजार सधैँ बढिरहँदैन, लगानीकर्तामा यति चेत भए न उनीहरु आन्दोलनमा उत्रनु पर्छ न त कसैको राजीनामा माग्दै टुकुचाको खोलामा अनशन नै बस्नुपर्छ । १० रुपैयाँको लाभ हेर्ने र तत्कालै नाफा खोजेर सहरमा बसीबसी आम्दानी गर्न खोज्ने समूह केही घाटामा जाने बित्तिकै यो भएन र त्यो भएन भन्दै रोईकराई गर्नु न्यायसङ्गत हुँदैन । विगत केही दिनदेखि बजारमा सुधार देखियो र करिब ६० अङ्कले बजार माथि लाग्दा खेलाडीहरुले नाफा बुक गर्न थालिसके । जसको प्रभाव बजारमा देखिइसकेको छ ।

लगानीकर्ता यस्तै बेला हो सचेत रहनुपर्ने । सेयरका एकथरी खेलाडीहरु पुँजी बजार लगानीको सबैभन्दा राम्रो क्षेत्र हो भन्दै सञ्चार युद्धमा ओर्लिएका छन् । यस किसिमको सीमित लगानीकर्ताको आवेगलाई सामान्य लगानीकर्ताले बिनाकुनै अध्ययन र कम्पनीको यथार्थ चित्र नहेरी बजार प्रवेश गर्छन् भने तिनले खाली गुमाउने मात्रै हो । अवश्य पनि बजार न्यूनतम बिन्दुतिर छ । यसको अर्थ सम्भावनै सम्भावना छ भन्ने पनि हो । तर, जुन किसिमको प्रचारप्रसार भइरहेको छ, त्यसमा भने लगानीकर्ताले चनाखो गरी अध्ययन गर्नै पर्छ । सेयर बजारको लगानी आज छ, भोलि छैन भन्ने अवस्थामा जाने परिस्थिति निर्माण हुनुभन्दा पहिले नै कम्पनीका वास्तविकता अध्ययन गरी, दीर्घकालीन तथा अल्पकालीन रणनीतिहरु तय गरी लगानी गर्नु आवश्यक छ । अर्कोतिर बैङ्कले ऋण दियो भन्दैमा लिने र मनलाग्दी ढङ्गले सेयरमा लगानी गर्दा फसिन्छ र भोलि फेरि अहिलेको अवस्थामा ल्याईपु¥याउँछ, यसतर्फ लगानीकर्ता सचेत बन्नैपर्छ । घटेको बजारको विकल्प बढ्ने नै हो । तर, कहिले र कसरी भन्ने मात्रै अहम् प्रश्न हो ।

 

असार लागेसँगै यी कुनै पनि कुराले काम रोकिँदैन र फटाफट खर्च हुन्छ । विगतमा महिनौं लागेका कामहरु अहिले के त्यस्तो जादुको छडी छ र भन्नेबित्तिकै सबै काम पूरा हुन्छ ? हरेक कामको आफ्नै प्रक्रिया र विधि हुन्छ । यसको अर्थ हो, असार लागेसँगै कमिसनको खेल सुरु हुन्छ र बजेट सिध्याउन अनेकन धन्दा सुरु हुन्छ ।

 

चालू आर्थिक वर्षको ५ महिना गुज्रिसकेको छ । पुँजीगत खर्चको अवस्था चिन्ताजनक छ । पुस ८ गतेसम्म साढे १३ प्रतिशत मात्रै विकास खर्च भएको छ । यद्यपि यो विकासको खर्चको कुल मानक भने होइन । तर, पनि विकास खर्चको अवस्था यही सूचकले दिन्छ । विगतमा पनि पुँजीगत खर्चको अवस्था सुरुआती चरणमा यस्तै रहन्थ्यो । तर, आर्थिक वर्षको अन्त्य अर्थात् असारमा ७० प्रतिशतभन्दा माथि विकास खर्च रेकर्ड हुने गरेको इतिहास छ । यस्तो अवस्था किन हुन्छ भन्ने बारेमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र पनि जानकार छन् । अहिले हरेक काममा समस्या आउँछ । असारभन्दा अघि सार्वजनिक खरिद ऐनले काम गर्न दिँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतले भनेअनुसार काम गर्न दिँदैनन् ।

सरकारले पनि कर्मचारी परिवर्तन गरिरहने र नीतिगत परिवर्तनको आभास दिईरहँदा लक्षित काम सम्पन्न गर्न गाह्रो हुने अधिकारीहरुको भनाइ सुन्नमै पाइन्छ । खासकुरा यतिबेला जनताहरु केही फुर्सदमा हुन्छन् र कामको गुणस्तरमा प्रश्न उठाउने सामथ्र्य राख्छन् । अर्थात् जनस्तरले कामको लेखापरीक्षण गर्ने बेला कमिसन लिन समस्या हुन्छ । तर, असार लागेसँगै यी कुनै पनि कुराले काम रोकिँदैन र फटाफट खर्च हुन्छ । विगतमा महिनौं लागेका कामहरु अहिले के त्यस्तो जादुको छडी छ र भन्नेबित्तिकै सबै काम पूरा हुन्छ ? हरेक कामको आफ्नै प्रक्रिया र विधि हुन्छ । यसको अर्थ हो, असार लागेसँगै कमिसनको खेल सुरु हुन्छ र बजेट सिध्याउन अनेकन धन्दा सुरु हुन्छ । जनता आ–आफ्नो काममा व्यस्त हुने भएकाले कुनै पनि काम जसरी गरे पनि हुन्छ र कागजी हिसाबकिताब मिलाएपछि पैसा खर्च भएको देखाउन पाइन्छ । जनताको आँखामा छारो हाल्ने र सरकारको ढुकुटी लुट्ने धन्दा सुरु हुन्छ ।

हो, करिब यस्तै अवस्था सेयर बजारमा पनि देखिन्छ । सेयर बजारमा सीमित लगानीकर्ता र नियामकीय दायरामा भएका लगानीकर्ताले यो वा त्यो बहानामा वास्तविक लगानीकर्तालाई निचोर्ने काम हुन्छ । सकेसम्म बजारमा विभिन्न किसिमका अफवाह फैलाउने र आफूले फाइदा लिने धन्दामा लागेका हुन्छन् । त्यसमा नियामकीय अधिकारिसहितका केही सीमित लगानीकर्ताहरुले बजार नियन्त्रणमा राख्ने प्रयास हुन्छ । विधि मिच्ने उपयुक्त पर्खाइमा रहेकाहरुले अहिले बजार यस्तो हुन्छ र उस्तो हुन्छ भन्दै लगानीकर्तालाई मुर्ख बनाउन तल्लीन हुन्छन् । बजारको समस्या हिजो जस्तो थियो आज पनि उस्तै छ । तर, बजार बढ्दा कुनै पनि नीतिगत अप्ठ्याराका खोजी हुँदैन । जब जब बजार ओरालो यात्रामा रहन्छ तब तब लगानीकर्ताका अनेकन समस्या सतहमा आउँछन् र त्यसको समाधानका लागि दबाब सिर्जना गरिन्छ । असली लगानीकर्ताले हरेक समयमा बजारमा देखिएका समस्या समाधानमा निरन्तर घच्घच्याउनु जरुरी छ ।