यो वर्ष बैङ्कको नाफा बढेर ३ अर्ब रुपैयाँ कट्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले बताए । क्यापिटल नेपालसँग कुरा गर्दै सीईओ न्यौपानले भने, ‘हामी बजार विस्तारमा लागेर देशकै नम्बर १ बैङ्क बनेका छौं, यो वर्षदेखि नाफा बढ्ने छ ।’
काठमाडौं । एनआईसी एसिया बैङ्कले चालू आर्थिक वर्ष ०७५÷०७६ मा ३ अर्ब रुपैयाँ नाफा गर्ने भएको छ । आक्रामक रुपमा बजार विस्तारमा लागेको बैङ्कले चालू आर्थिक वर्षमा खुदनाफा बढाएर ३ अर्ब पुर्याउने लक्ष्य लिएको हो ।
यो वर्ष बैङ्कको नाफा बढेर ३ अर्ब रुपैयाँ कट्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले बताए । क्यापिटल नेपालसँग कुरा गर्दै सीईओ न्यौपानले भने, ‘हामी बजार विस्तारमा लागेर देशकै नम्बर १ बैङ्क बनेका छौं, यो वर्षदेखि नाफा बढ्ने छ ।’
सेयरधनीले पाउने लाभांशबारे अहिले भन्न नसकिने उनले बताए । विगत वर्षको भन्दा यस वर्ष धेरै बढ्ने उनको दाबी छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैङ्कले ५८ करोड २२ लाख रुपैयाँ खुदनाफा गरेको छ । आक्रामक रुपमा बजार विस्तारमा जाँदा खर्च बढ्नाले गत आर्थिक वर्ष नाफा घटेर ८२ करोड ४६ लाख रुपैयाँमा सीमित भएको थियो । शाखा विस्तार र निक्षेप सङ्कलनमा बैङ्क आक्रामक भएको थियो ।
यो वर्ष निक्षेप परिचालन बढेर २ खर्ब रुपैयाँ पुग्ने उनले बताए । बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) भएपनि निक्षेपको लक्ष्य पूरा हुने उनले सुनाए । निक्षेपका आधारमा एनआईसी देशकै सबैभन्दा ठूलो बैङ्क भएको छ ।
लघुवित्त र विकास बैङ्कले गरेको काम एनआईसी एसियाले गरिरहेको सुनाउँदै उनले यो वर्ष ७ लाख ग्राहक थप हुने दाबी गरे । बैङ्कमा ९१ प्रतिशत व्यक्तिगत र ९ प्रतिशत मात्र कर्पोरेट ग्राहक भएको उनले जानकारी दिए । तल्लो तहसम्म बैङ्किङ सेवा दिने योजना एनआईसीको रहेको उनले जानकारी दिए ।
हालसम्म बैङ्कको निक्षेप परिचालन १ खर्ब ७० अर्ब रुपैयाँको हारहारीमा छ । यस्तै कर्जा लगानी पनि १ खर्ब ४५ अर्ब रुपैयाँ छ । यस वर्षदेखि शाखा विस्तार लगभग सकिन लागेको र ठूलो हिस्सा बजार लिएका कारण खर्च घट्ने अनुमान बैङ्कको छ ।
एनआईसीले टोलटोलमा बैङ्क भन्ने योजनाको सफलतापछि एनआईसी एसिया बैङ्कले ग्राहकको हातहातमा बैङ्क पुर्याउने भएको छ । एनआईसीले हाल सञ्चालनमा रहेको डिजिटल बैङ्किङलाई अझ विकशित गरी हातहातमा बैङ्क योजना ल्याउन लागेको हो । हातहातमा बैङ्क अवधारणा कार्यान्वयनमा ल्याउने तयारी भइरहेको न्यौपानेले बताए । एनआईसीको यो योजनाले मोबाइलबाट सम्पूर्ण बैङ्किङ कारोबार हुने उनले जानकारी दिए ।
क्यापिटल नेपालसँग कुरा गर्दै सीईओ न्यौपानेले कुल कारोबारको ३५ प्रतिशत डिजिटल बैङ्किङ कारोबार हुने गरेकोमा यस वर्ष बढाएर ५० प्रतिशत पुर्याउने योजना सार्वजनिक गरे ।