यसअघि प्राविधिक रुपमा पाँच कम्पनी योग्य देखिए पनि सस्तो दर प्रस्ताव गरेपछि रमन जेभीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का दिएको हो । उसको कार्यानुभव र बनाउन सक्छ कि सक्दैन भनेर हेरिएन । ठेक्का आफ्नो पोल्टामा पार्न निर्माण व्यवसायी, उच्च पदस्थ कर्मचारी र सांसदकै रस्साकस्सी देखिन्छ ।
काठमाडौं : अनुभव नभएको कम्पनीले धरहरा बनाउने ठेक्का पाएको खुलासा भएको छ । बोलपत्र आह्वान गर्दा कम रकम बोलकबोल गर्ने जेआईटीसी रमन जेभीले धरहराको मुख्य संरचना अन्डरग्राउन्ड बनाउने जिम्मा पाएको छ । उसले ३ अर्ब ४८ करोड रुपैयाँमा धरहरा बनाउने जिम्मा पाएको हो । जब कि यो कम्पनीसँग धरहरा र भूमिगत संरचना बनाउने अनुभव नै छैन ।
धरहरा बनाउने ठेक्का पाएको जेआईटीसी रमन जेभीले आगामी दुई वर्षभित्र २२ तलाको धरहरा निर्माण गर्नेगरी ठेक्का पाएको छ । यसअघि धरहराजस्तै संरचना निर्माणमा उक्त जेभी कम्पनीको कार्यानुभव नभएको बताइएको छ । धरहराको प्राथमिक र मुख्य भाग अन्डरग्राउन्ड तीन तला निर्माण गर्नुपर्छ । तर, त्यही प्रकृतिको संरचना रमन जेभीले अहिलेसम्म नबनाए पनि धरहरा निर्माणको ठेक्का पाएको छ । यसले धरहरा पुनर्निर्माणमा त्यसको गुणस्तर र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।
यसअघि प्राविधिक रुपमा पाँच कम्पनी योग्य देखिए पनि सस्तो दर प्रस्ताव गरेपछि रमन जेभीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का दिएको हो । उसको कार्यानुभव र बनाउन सक्छ कि सक्दैन भनेर हेरिएन । ठेक्का आफ्नो पोल्टामा पार्न निर्माण व्यवसायी, उच्च पदस्थ कर्मचारी र सांसदकै रस्साकस्सी देखिन्छ ।
रमन जेभीले धरहराको ‘ग्राउन्ड बेसिन’ अर्थात् भूमिगत जग निर्माणको काम अहिलेसम्म नगरेको आयोजनाकै कर्मचारी स्वीकार गर्छन् । प्राविधिक तथा वित्तीय रुपमा सबल अन्य स्वदेशी ठेकेदार कम्पनीलाई पाखा लगाएर अनुभव नै नभएको कम्पनीलाई ठेक्का दिइएको भन्दै अन्य कम्पनीले गुनासो गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव तथा धरहरा पुनर्निर्माण आयोजना विकास समितिका प्रमुख राजुमान मानन्धरले बताए ।
मानन्धरले जेआईटीसी रमन जेभीले आफ्नो अनुभवअनुसार गर्न नसके ‘ज्वाइन्ट भेन्चर’मा चिनियाँ कम्पनीसँग मिलेर गर्न सक्ने व्यवस्था ऐनमा रहेकाले त्यसैअनुसार कम्पनीले काम गर्न सक्ने बताए । रमन जेभीले यसअघि तीन तला अन्डरग्राउन्ड बनाएको अनुभवबारे आफूलाई थाहा नभएको र अन्य निर्माण व्यवसायी र ठेकेदारबाट तीव्र रुपमा आलोचना आएको समेत मानन्धरले उल्लेख गरे ।
४०० मोटरसाइकल र ४०० गाडी पार्किङ क्षमताको तीन तले अन्डरग्राउन्ड संरचना बनाउनु पर्ने धरहरा निर्माणको प्रस्तावित योजनामा उल्लेख छ । त्यसअनुसार नै बनाउनु पर्ने गरी रमन जेभीले सम्झौता गरेको छ । तर, यसअघि जेभीले यस्तो मोडेलको संरचना नबनाएकाले कतै कमिसनको खेलमा त कम्पनीलाई ठेक्का दिने सम्झौता भएन ? भन्ने आम प्रश्न उब्जिएको छ । रमन जेभीले नेपाली ठेकेदारसँग मिलेर अन्य संरचना बनाएकाले धरहरा पनि बनाउने लामा कन्स्ट्रक्सनका सञ्चालक तथा काङ्ग्रेस सांसद जिपछिरिङ लामाले बताए । यसअघि कम्पनीले बनाएको कार्यानुभव नभए पनि धरहरा बनाएपछि अनुभव हुने लामाको तर्क छ । उनले धरहरा बन्ने कुरा सुखद रहेको भन्दै त्यसका लागि सबैले सकारात्मक रुपले हेर्नुपर्ने बताए ।
कस्तो बन्दैछ धरहरा ?
आयोजनाको प्रस्तावनाअनुसार यसअघि ९ तला भए पनि अहिले २२ तलाको धरहरा बन्छ । भीमसेन थापाका पालामा बनेको धरहरा ९ तला निकै अग्लो भए पनि अहिले बन्ने धरहरा त्यही आकारमा हुने छैन । स—साना तलासहित सबै तलामा जान सकिने गरी निर्माण हुनेछ । १८ औं तलामा भने अत्याधुनिक प्रविधिका भूकम्पीय सामग्री, भिडियो क्लिप्स र तस्बिर सजाइने छ । यसअघिको तुलनामा धरहराको यो नयाँ विशेषता रहेको मानन्धरले बताए ।
४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा क्षेत्रभित्र रमणीय तथा मनोरम बगैँचा, म्युजिकल पार्क, भिजिट एरिया, रात्रि समयमा अत्याधुनिक लाइट बन्नेछ । अहिले देखिने धरहराको ठुटोलाई चारैतिरबाट सिसाले घेरेर अन्य संरचना बन्ने छन् ।