मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको ठेक्का चीनको सेन्जेन फराड इलेक्ट्रिकलाई, मर्स्याङ्दीको बिजुली भरतपुर र काठमाडौं आउन सहज हुने

सेन्जेनले ६५ करोड ५५ लाख नेपाली रुपैयाँ र ११ करोड ६५ लाख चिनियाँ मुद्रामा ठेक्का पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सारभूतरुपमा प्रभावग्राही र न्यूनतम मूल्य अङ्कित बोलपत्रदाता सेन्जेनलाई प्रसारणलाइन बनाउने ठेक्का दिइएको आयोजनाले जनाएको छ ।

काठमाडौं : २२० केभी क्षमताको मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । चीनको सेन्जेन फराड इलेक्ट्रिक कम्पनी लिमिटेडले प्रसारणलाइन बनाउने ठेक्का पाएको हो ।

सेन्जेनले ६५ करोड ५५ लाख नेपाली रुपैयाँ र ११ करोड ६५ लाख चिनियाँ मुद्रामा ठेक्का पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सारभूतरुपमा प्रभावग्राही र न्यूनतम मूल्य अङ्कित बोलपत्रदाता सेन्जेनलाई प्रसारणलाइन बनाउने ठेक्का दिइएको आयोजनाले जनाएको छ ।

सेन्जेनले लम्जुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म करिडोरका लागि प्रसारणलाइनको डिजाइन, आपूर्ति, जडान र सञ्चालनको काम गर्नुपर्ने छ । उदिपुर–मार्किचोक–भरतपुरसम्मको प्रसारणलाइनको लम्बाइ ६७ किलोमिटर छ । मर्स्याङ्दी करिडोर २२० केभीबाट प्रवाह भएको विद्युत् मार्किचोकबाट मर्स्याङ्दी र काठमाडौंसम्म पुग्ने छ ।

यो प्रसारणलाइन नबन्दा मर्स्याङ्दी करिडोरमा उत्पादन हुने बिजुली खपतकेन्द्रसम्म पुर्याउन समस्या हुँदै आएको छ । मर्स्याङ्दी करिडोरमा ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दीलगायत आधादर्जन साना आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ ।

यसैगरी मर्स्याङ्दी करिडोरअन्तर्गत विद्युत् प्राधिकरणले मनाङको धारापानी र लमजुङको खुदी तथा उदिपुरमा पनि २२०/१३२/३३ केभीको सबस्टेसन निर्माण गर्ने भएको छ । त्योसँगै मनाङदेखि उदिपुर २२० केभी ४६ किलोमिटर प्रसारणलाइन तथा मनाङ–धारापानी लमजुङ–खुदीको २२०/१३२/३३ केभी सबस्टेसन निर्माण हुने छ । मनाङको धारापानीदेखि लमजुङको उदिपुर करिब ४६ किलोमिटर लामो छ । सो प्रसारणलाइनअन्तर्गत दुई ओटा सबस्टेसनहरुको निर्माण गरिने छ ।

मर्स्याङ्दी करिडोरमा १०६ मेगावाट क्षमताका आयोजना निर्माण क्रममा छन् । लमजुङको दोर्दी तथा न्यादी खोला आयोजना निर्माणाधीन अवस्थामा छन् । यी आयोजना आउँदो २ वर्षमा सम्पन्न हुँदैछन् ।

यस्तै दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्न ११ किलोमिटर स्थानीय कीर्तिपुर–उदिपुर १३२ केभी ‘डबल सर्किट’ प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भई निर्माण सुरु भइसकेको छ । मर्स्याङ्दी करिडोरमा निर्माण भइरहेका आयोजनामा २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ तथा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ छन् ।