इतिहास झल्किने गरी धरहरा बन्छ : प्रधानमन्त्री

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा २२ तलाको रहनेछ । यसको उचाइ ७२ मिटर र बेस ४८ फिट हुनेछ । यसको १८औं तलामा एक्जिबिसन हल हुनेछ । धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैंचा, रेष्टुराँ तथा अत्याधुनिक पार्किङ रहनेछ ।

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले इतिहास झल्किने गरी धरहरा बनाउने बताएका छन् । धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै बिहीबार उनले इतिहासलाई जीवित राखी आधुनिक शैलीमा यसको निर्माण गर्ने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले निर्धारित समयमै धरहरा बनाउन निर्माण कम्पनीलाई निर्देशनसमेत दिए । धरहराको टुप्पोमा युवायुवती मात्र नभई वृद्धवृद्धासमेत सहजै पुग्न सकिने किसिमको बनाउन उनले अनुरोध गरेका छन् । धरहरालाई देखाएर स्वदेशी एवम् विदेशी पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ ।

पर्यटकले धरहराबाट काठमाडौं हेर्दा धूलोले नदेखिने अवस्था आयो भने लज्जाको विषय बन्ने भएकाले महानगरपालिकालाई त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले धूलो छेक्ने जालीको प्रयोग गरी वरपर समस्या नहुने गरी काम गर्न निर्देशनसमेत दिए ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले रानीपोखरीको विवाद तत्काल समाधान गरी पुनर्निर्माण थाल्न पनि निर्देशन दिएका छन् । रानीपोखरी पनि इतिहास नहराउने तरिकाले नयाँ प्रविधिअनुसार बनाउन सम्बन्धित निकायलाई उनले अह्राए ।

३ अर्ब ४८ करोड लागतमा जेआईटीसी रमन जेभीले निर्माण गरिरहेको धरहराको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । सन् १८३२ मा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेको धरहरा २०७२ सालको भूकम्पमा भत्किएको थियो ।

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा २२ तलाको रहनेछ । यसको उचाइ ७२ मिटर र बेस ४८ फिट हुनेछ । यसको १८औं तलामा एक्जिबिसन हल हुनेछ । धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैंचा, रेष्टुराँ तथा अत्याधुनिक पार्किङ रहनेछ । ‘धरहरा मौलिक धरहराको एक आधुनिक प्रतिबिम्ब हो,’ रमन जेभीका निर्देशक रमन महतोले भने, ‘यो नेपालको एक उत्कृष्ट इन्जिनियरिङको नमुना हुनेछ ।’