पर्यटकीयस्थल बन्दै मायालु डाँडा

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्ली हिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले माग गरेका छन् । लभ्ली हिल पुग्नका लागि पदमार्ग, रेष्टुराँ, भ्यू टावर, पौडी पोखरीलगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउने स्थलका रुपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसायसमेत फस्टाउने सम्भावना रहेको छ ।

लभ्ली हिलको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको मायालु डाँडामा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थालेपछि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी म्याग्देलीको संस्था (मोना)ले थप भौतिक पूर्वाधार निर्माण गर्न चासो देखाएका छन् ।

सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको लभ्ली हिलमा हिजोआज म्याग्दीका मात्रै होइन, देशका विभिन्न जिल्लाबाट आएका व्यक्तिका साथै विदेशीको समेत भीड लाग्न थालेको छ । लभ्ली हिलमा रेलिङ, गोलघर, खाजाघरलगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो अहिले लभ्ली हिल बन्न पुगेको छ ।

म्याग्दी सदरमुकाम बेनी बजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्ली हिलमा अहिले दिनहुँजसो सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । ससाना बालबालिकादेखि पाका उमेरका मानिस लभ्ली हिलमा पुग्ने गरेका छन् । लभ्ली हिलको डिलबाट सुन्दर र आकर्षक देखिने बेनी बजारलाई पिठ्युँमा पारेर तस्बीर खिच्न खासगरी तन्नेरी पुग्ने गर्छन् ।

लभ्ली हिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयको भनाइ छ । पहिले केही सिमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्ली हिल बनेपछि समूह–समूह बनाएर दैनिकरुपमा युवा पुस्ता पुग्ने गरेका छन् । सामान्य समयमा समेत लभ्ली हिलमा मानिसको उपस्थिति देखिन्छ भने शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा त झन् भीडै लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवतीका लागि लभ्ली हिल आकर्षणको गन्तव्य बनेको छ ।

प्रवासी म्याग्देलीलाई साझेदार बनाएर नयाँ अवधारणाअनुसार हाँडेभिर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण थालिएको छ । पदमार्ग निर्माण भएपछि लभ्ली हिलमा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले बताए ।

म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर सरकारी निकाय, निजी क्षेत्र र प्रवासी म्याग्देलीको संयुक्त साझेदारीमा पर्यटन पूर्वाधार योजनाअन्तर्गत पदमार्ग निर्माण गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताबताए । कूल रु ५७ लाख, आठ हजार, २६० लागत अनुमान गरिएको पदमार्गको निर्माणमा बेनी नगरपालिका, मोना र उद्योग वाणिज्य सङ्घले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्ने गरी यसअघि नै समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकिएको छ ।

बेनीदेखि आधा घण्टाको दूरीमा रहेको लभ्ली हिलबाट बेनी बजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तको समेत मनमोहक दृश्यावलोकन गर्न पाइन्छ । बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ ।

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्ली हिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले माग गरेका छन् । लभ्ली हिल पुग्नका लागि पदमार्ग, रेष्टुराँ, भ्यू टावर, पौडी पोखरीलगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउने स्थलका रुपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसायसमेत फस्टाउने सम्भावना रहेको छ ।

लभ्ली हिलमा गत आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभ्ली हिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ । कूल १२ लाखको लागतमा लभ्ली हिलमा गोलघर भ्यु प्वाइन्ट, रेलिङ र बस्नका लागि आरामदायी बेञ्चलगायतका पूर्वाधारको निर्माण गरेसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । रासस