कोषले १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भन्दै बैङ्कहरुसँग प्रस्ताव माग गरेको छ । कोषले पुस १८ गतेसम्म आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी समय अवधि खुलाइ शिलबन्दी बोलपत्र पेश गर्न भनेको छ ।
काठमाडौं । बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रञ्च) भइरहेका बेला नागरिक लगानी कोषले वाणिज्य बैङ्कहरुलाई पैसा दिने भएको छ । कोषले आफूसँग भएको २ अर्ब १० करोड ५० लाख रुपैयाँ बैङ्कमा पठाउन लागेको हो ।
कोषले १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भन्दै बैङ्कहरुसँग प्रस्ताव माग गरेको छ । कोषले पुस १८ गतेसम्म आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी समय अवधि खुलाइ शिलबन्दी बोलपत्र पेश गर्न भनेको छ ।
बैङ्कहरुले ब्याजदरमा भद्र सहमति गरेकाले कोषले बढीमा ८.५ प्रतिशत मात्र ब्याज पाउने छ । कोषले बढी ब्याजदरको फाइदा उठाउँदै आएको थियो ।
मुद्दतीको ब्याजदर बढेर १३ प्रतिशतसम्म पुगेपछि नेपाल राष्ट्र बैङ्कको दबावमा बैङ्कले घटाइसकेका छन् । केन्द्रीय बैङ्कको निर्देशनअनुसार बैङ्कहरुले व्यक्तिगततर्फ ९.२५ र संस्थागतलाई ८.५ प्रतिशत ब्याजदर कायम गरेका छन् । यस्तै साधारण बचत खातामा ६.५ प्रतिशत ब्याज दिन बैङ्कर्स सहमत भएका हुन् ।
चालू आर्थिक वर्षको ४ महिनामा बैङ्कहरुले निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी बढी गरेका छन् । गत कात्तिकसम्म बैङ्कहरुले १ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । ४ महिनामा झन्डै ८७ करोड रुपैयाँ बढी कर्जा लगानी गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
अधिकांश निक्षेप सङ्कलनको तुलनमा कर्जा बढी लगानी गरेपछि अधिकांश बैङ्कको सीसीडी रेसियो ७८ प्रतिशत पुगेको छ । केही बैङ्क थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत कात्तिकमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ ।