सय गन्तव्यका लागि २५ करोड रकम विनियोजन

पूर्वाधार विकासका लागि सरकारले प्रतिगन्तव्य ५० लाख रुपैयाँ दिने तयारी गरेको छ । तत्कालका लागि २५/२५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै कामका आधारमा बाँकी रकम पठाउने मन्त्रालयको तयारी छ ।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यको पूर्वाधार विकासका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले छनौट भएका गन्तव्यको पूर्वाधार विकासका लागि प्रतिगन्तव्य २५/२५ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको जानकारी दिए ।

सरकारले सन् २०२० लाई लक्ष्य गरी केही महिनाअघि देशभरबाट सय ओटा गन्तव्य छनौट गरेको थियो । ती गन्तव्यमा पूर्वाधार विकासका लागि सरकारले प्रतिगन्तव्य ५० लाख रुपैयाँ दिने तयारी गरेको छ । तत्कालका लागि २५/२५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै कामका आधारमा बाँकी रकम पठाउने मन्त्रालयको तयारी छ ।

विनियोजित रकम सम्बन्धित नगरपालिका र गाउँपालिकाले सञ्चालन गर्ने छन् । स्थानीय तहको सहकार्यमा ती पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिने मन्त्रालयको भनाइ छ । भ्रमण वर्ष नजिकिइरहेका बेला मन्त्रालयले ती गन्तव्यको पूर्वधार विकासका लागि रकम पठाएको हो ।

पर्यटन मन्त्रालयले सार्वजनिक सूचना जारी गरी नयाँ गन्तव्यका लागि आवेदन दिन अनुरोध गरेको थियो । देशभरबाट आएको निवदेनका आधारमा पर्यटन मन्त्रालयले सय ओटा गन्तव्यको छनौट गरेको थियो ।

बजेट भाषणमै अर्थमन्त्री डा. युवराज खतिवडाले ‘पहिला देश अनि विदेश’ भन्ने नारालाई सार्थक बनाउन नयाँ गन्तव्य छनौट गर्ने उल्लेख गरेका थिए । हाल विषेश गरी ६ ओटा गन्तव्य काठमाडौं, पोखरा, चितवन, सगरमाथा, अन्नपूर्ण क्षेत्र तथा लुम्बिनीमा केन्द्रित पर्यटनलाई विस्तार गर्न नयाँ गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा लागिएको पर्यटन मन्त्री रवीन्द्र अधिकारीको भनाइ छ ।

पछिल्लो समय नेपालीहरु आन्तरिक रुपमा धेरै घुम्न थालेका छन् । घुम्ने संस्कृतिको विकास भएसँगै नयाँ नयाँ गन्तव्यको छनौट गरी प्रचार प्रसारमा लागिएको नेपाल पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले जानकारी दिए । उनले भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी नयाँ गन्तव्यको प्रचार गर्न लागिएको बताए ।