प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्सट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोसी–काठमाडौं प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिनअघि तोडेको हो ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको छ ।
प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्सट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोसी–काठमाडौं प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिनअघि तोडेको हो । चिनियाँ कम्पनीसंग ठेक्का तोडेपछि विद्युत प्राधिकरणको नयाँ प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले फेरी ग्लोबल टेण्डरको आब्हान गरिसकेको छ ।
प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको छ । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैङ्क जमानत पनि जफत गरिएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिए ।
प्राधिकरणले कम्पनीसँग ११ असोज ०७३ मा १२ जेठ ०७६ मा निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्त्वको प्रसारण लाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिएका थिए । तर, कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।
‘ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिँदा करिब ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटक–पटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्त्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का टोडिएको हो’, ओझाले भने, ‘काम गर्न पटक पटक गरिएको ताकेता तथा चेतावनी दिँदा ठेक्का सम्झौतामा उल्लेख गरिएको समय तालिका परिवर्तन गर्नमै कम्पनी लागिरह्यो, काम नगर्ने तर विभिन्न बहाना बनाएर ठेक्का ओगटी राख्ने मात्रै कम्पनीको नियत देखियो ।’
कम्पनीले सम्झौतामा समय तालिकासहित उल्लेख भएका टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्ने लगायतका काम गरेको थिएन ।
ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि ठेन्डर आहन भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिए । उनका अनुसार, आगामी २०१९ मेभित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८ सय २० दिनभित्र निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताए । आयोजना नेपाल सरकार र एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो ।
कम्पनीले सिन्धुपाल्चोको बाह्रबिसेमा २२०/१३२ केभी सबस्टेसन बनाउने ठेक्का पाएको थियो । सबस्टेसनको काम पनि सन्तोषजनक नभएको आयोजनाले जनाएको छ । ताकेता गर्दासमेत सम्झौताको तालिकाअनुसार अहिलेसम्म मुख्य काम नै नगरेको आयोजना प्रमुख ओझाले बताए ।
प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२०मा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।
खिम्ती र तामाकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौ उच्च क्षमताको प्रसारण लाइन बनाउन लागिएको हो ।
रामेछापको खिम्तीमा बन्न लागेको सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाई ४४ किलोमिटर छ । बाह्रबिसे–काठमाडौं खण्डको ठेक्का भने लार्सन एन्ड टर्बो (एल एन्ड टी)ले पाएको छ ।