अपी पावर कम्पनीले जलविद्युत् र सोलार गरी ६६ मेगावाट क्षमताका १० आयोजना बनाउँदै, जडित क्षमता ७५ मेगावाट पुग्ने

कम्पनीले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यस आर्थिक वर्षभित्र आयोजना सम्पन्न हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल ८.५ मेगावाट क्षमताको नौगाड आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीमा सर्वसाधारणको समेत लगानी छ ।

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित अपी पावर कम्पनी लिमिटेडले जलविद्युत् र सोलार गरी ६६ मेगावाट क्षमताका १० आयोजना निर्माण गर्ने भएको छ । यसमध्ये कम्पनीले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यस आर्थिक वर्षभित्र आयोजना सम्पन्न हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल ८.५ मेगावाट क्षमताको नौगाड आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीमा सर्वसाधारणको समेत लगानी छ ।

यस्तै अपीले ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना बनाउने भएको छ । आउँदो महिना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) हुने कम्पनीले जनाएको छ ।

अपीले धनुषाको ढल्केबरमा १ मेगावाट, पर्साको परवानीपुरमा ८ मेगावाट, बाराको सिमरामा १ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटका सोलार आयोजनाको काम अघि बढाएको छ । विद्युत् प्राधिकरणसँग सोलार आयोजनाको पीपीए भइसकेको अपीले जानकारी दिएको छ । आयोजना निर्माणाधीन अवस्थामा रहेको अपीले जनाएको छ ।

यस्तै नवलपरासीको बर्दघाट र कावासोतीमा १÷१ मेगावाट, कावासोतीमा ५०० किलोवाट र कपिलवस्तुको चनौटामा १.५ मेगावाटको सोलार आयोजना अघि बढाउने तयारी भइरहेको छ । सोलार आयोजना पीपीए प्रक्रियामा छन् ।

आयोजना बनाउनका लागि आवश्यक लगानी जुटाउन अपीले २ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ छ । अपीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । हकप्रदका लागि निवेदन दिएको धेरै समय भइसक्दा पनि बोर्डबाट स्वीकृति पाएको छैन ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अपीको नाफा घटेको छ । चालू आवको असोजसम्म कम्पनीले ३ करोड रुपैयाँ मात्र नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षमा गरेको नाफाबाट अपीले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।