शिक्षा, स्वास्थ्य, कृषि, रिसोर्ट र स्कीमा ठूलो लगानी ल्याउँदै लगानी बोर्ड

परामर्शदाता छनोट लिस्टमा राखिएको छ । छानिएका परामर्शदाताले ४ ओटा परियोजनाको सम्भाव्यता अध्ययनका लागि बोलपत्रमा भाग लिन पाउनेछन् । शिक्षा, खेलकुद र स्वस्थ सहर बनाउन सम्भाव्यता अध्ययन गर्न चार ओटा कम्पनीले आशयपत्र पेस गरेका छन् ।

काठमाडौं : लगानी बोर्ड नेपालले व्यावसायिक कृषि, शिक्षा र स्वास्थ्य, होटल, रिसोर्टलगायत विभिन्न चार ठूला परियोजना सञ्चालन गर्न लागेको छ । सबै परियोजनाको सम्भाव्यता अध्ययन थाल्न लागेको छ । बोर्डले नेपाललगायत विभिन्न मुलुकका एक दर्जन परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययनका छनोट गरेको छ ।

बोर्डले यी क्षेत्रमा ठूलो वैदेशिक लगानी भित्र्याउन सम्भाव्यता अध्ययनका लागि तयारी थालेको हो । बोर्डले ४ वटा क्षेत्र तोकेर परामर्शदाताबाट प्रस्ताव आह्वान गरेको प्रवत्ता उत्तमभक्त वाग्लेले बताए । बोर्डले शिक्षा, खेलकुद र स्वस्थ सहर, से फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा लक्जरी रिसोर्ट विकास र सञ्चालन, व्यावसायिक कृषि, पशुपालन र मासु प्रशोधनका एकीकृत परियोजना र मनाङमा स्की रिसोर्ट निर्माण तथा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता नियुक्तिको तयारी सुरु गरेको हो ।

परामर्शदाता छनोट लिस्टमा राखिएको छ । छानिएका परामर्शदाताले ४ ओटा परियोजनाको सम्भाव्यता अध्ययनका लागि बोलपत्रमा भाग लिन पाउनेछन् । शिक्षा, खेलकुद र स्वस्थ सहर बनाउन सम्भाव्यता अध्ययन गर्न चार ओटा कम्पनीले आशयपत्र पेस गरेका छन् । सिभिल इन्फोम्याटिक्स सोलुसन र नेपाल कन्सल्ट जेभी, ईआरएमसी प्राइभेट लिमिटेड, इर्नेस्ट एन्ड योङ भारत र ग्रान्ड ट्रोटन इन्डियाले आशयपत्र पेस गरेका छन् ।

यस्तै से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लक्जरी रिसोर्ट विकास र सञ्चालनको सम्भाव्यता अध्ययनका लागि ३ परामर्शदाताले आशयपत्र पेस गरेका छन् । ईआरएमसी, अर्नेस्ट एन्ड योङ र केपीएमजी एडभाइजरी सर्भिर तथा फुलब्राइट कन्सल्टेन्सी जेभीले चासो देखाएका हुन् ।

व्यावसायिक कृषि, पशुपालन र मासु प्रशोधनका एकीकृत परियोजना विकास तथा सञ्चालनका लागि आधा दर्जन कम्पनीले चासो देखाएको बोर्डले जानकारी दिएको छ । यसअनुसार केपीएमजी एडभाइजरी र फुलब्राइट कन्सल्टेन्सी जेभी, सीएमएस इन्जिनियरिङ कन्सल्टेन्सी र एफसीजी एन्डिक जेभी, प्राइसवाटर क्रुपस, इर्नेस्ट योग, एग्रिफुड कन्सल्टिङ र ग्रान्ड ट्रोटन इन्डिया जेभी छन् ।

मनाङमा स्की रिसोर्ट निर्माण तथा सञ्चालन अवधारणा तयारीका लागि ४ कम्पनीले आशयपत्र पेस गरेका छन् । यसअनुसार ईआरएमसी, अर्नेस्ट, आइएलएफ कन्सल्टिङ र केपीएमजी र फुलब्राइट जेभी छन् ।

बोर्डले शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रलाई अझ बढी व्यावसायिक रुपमा अघि बढाउन लागेको हो । यस्तै व्यावसायिक कृषि प्रणालीबाट उत्पादन बढाउने, पशुपालनलाई व्यवसायीकरण गर्ने र मासु प्रशोधन केन्द्र स्थापना गरेर स्वस्थकर मासुको निकासी गर्न प्रक्रिया अघि बढाएको हो ।

बोर्डले सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रबाट मात्र लगानीमा यी आयोजनाको काम अघि बढाउने भनेको छ । बोर्डले कृषिलाई व्यवसायीकरण गरेर उत्पादन बढाउन, व्यावसायिक पशुपालन र मासु प्रशोधन केन्द्र निर्माण गर्ने तयारी थालेको हो ।

परामर्शदाता नियुक्तिपछि सम्भाव्यता अध्ययन सम्पन्न हुनेछ । सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक निजी साझेदारीमा आयोजनाको काम अघि बढाउने भएको हो । हाल बोर्डले जलविद्युत्, सिमेन्ट, फोहोर व्यवस्थापन, मेट्रो र मनोरेललगायत बृहत् लगानीका आयोजनाको काम अघि बढाएको छ ।