मेगा बैङ्कका ग्राहकलाई अब विशेष सुविधा

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठ शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।

काठमाडौं : मेगा बैङ्क नेपाल लिमिटेडले राजधानीका आठ शाखामा ग्राहकका लागि मङ्गलबारबाट विशेष सुविधा सुरु गरेको छ । बैङ्कमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैङ्कले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो ।

उनीहरुलाई ग्राहकहरुको बैङ्किङ आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठ शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखामा पनि विस्तार गरिने मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।

उनले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्दै भन्ने मूल मन्त्रका साथ अगाडि बढेको बताइन् । ग्राहकहरुलाई बैङ्कमा आउँदा कुनै अप्ठ्यारो परे तत्काल हेरविचार होस् र सेवासुविधा लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधा सुरिएको उनको भनाई छ ।

‘मेगा कस्टमर केयर अफिसर’ले मेगा बैङ्कको शाखा कार्यालयमा पुग्ने ग्राहकहरुलाई स्वागत गर्नुका साथै उनीहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैङ्कका सम्बन्धित शाखासँग समन्वय गर्नेछन्, जसले ग्राहकहरुलाई बिनाझन्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने मेगा बैङ्कको विश्वास छ ।