सेयर बजारमा ऋणपत्र कारोबारलाई बढाउन बोर्डको तयारी, निष्कासनको ४० प्रतिशत सर्वसाधारणलाई

हाल ८० प्रतिशत संस्थागत र २० प्रतिशत मात्र सर्वसाधारणलाई निष्कासन हुने गरेकोमा नियमावली कार्यान्वयनमा आएपछि ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्नुपर्ने व्यवस्था गर्न लागेको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ऋणपत्र (डिवेञ्चर) को सेयर बजारमा कारोबार बढाउने तयारी गरेको छ । ऋणपत्र निष्कासन गर्ने बैङ्कहरुले कुल रकमको ४० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले भित्री कारोबार बन्देज नियमावलीमा यस्तो व्यवस्था गर्न लागेको हो ।

हाल ८० प्रतिशत संस्थागत र २० प्रतिशत मात्र सर्वसाधारणलाई निष्कासन हुने गरेकोमा नियमावली कार्यान्वयनमा आएपछि ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्नुपर्ने व्यवस्था गर्न लागेको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।

डिवेञ्चरलाई पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकरण गरी सेयरको दोस्रो बजारका रुपमा कारोबार गराउन लागेको गिरीले जानकारी दिए ।

बोर्डले भित्री कारोबार बन्देज नियमावलीको मस्यौदा कानुन प्रबलीकरण समितिमा पठाएको छ । समितिबाट आएपछि अर्थ मन्त्रालयमा पठाइने उनले जानकारी दिए । ‘बैङ्क तथा वित्तीय संस्थाले निष्कासन गर्ने ऋणपत्रमा पनि सर्वसाधारणको पहुँच बढाउने र यसलाई सेयर कारोबारको रुपमा विकास गर्नका लागि ४० प्रतिशत सर्वसाधारणलाई निष्कासनको व्यवस्था गर्न लागेको हो,’ उनले भने ।

चालू आर्थिक वर्षमा १० देखि साढे १० प्रतिशतसम्म ब्याज दिने गरी एनआईसी एसिया बैङ्क, सिद्धार्थ बैङ्क र सानिमा बैङ्कले गरी ६ अर्ब ८ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरिसकेका छन् । ऋणपत्रको अङ्कित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ कायम गरिएको छ ।

यस्तै ग्लोबल आईएमई बैङ्कले पनि वार्षिक साढे १० प्रतिशत ब्याज दिने गरी १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ । यसका लागि उसले बोर्डमा निवेदन दिएको छ । ब्याजदर बढेका कारण सानिमाको एक तिहाइ ऋणपत्र बिक्री भएन ।