तीनओटा जलविद्युत् आयोजनाले बन क्षेत्रको प्रयोग गर्न पाउने

काठमाडाैं । सरकारले तीनओटा जलविद्युत् आयोजना निर्माणका क्रममा बन क्षेत्रको समस्याका कारण अघि बढ्न नसकेको भन्दै बन क्षेत्रको प्रयोग गर्न अनुमति दिएको छ ।

पुस १६ गते सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत् आयोजना, ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत् आयोजना र १२० मेगावाटको रसुवा— भोेटेकोशी जलविद्युत् आयोजनाका लागि बन क्षेत्रको प्रयोग गर्न अनुमति दिइएको हो ।

सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले ती जलविद्युत् आयोजना निर्माणमा बन क्षेत्रको विवाद हटेको बताएका हुन् । मन्त्रिपरिषद्ले बन क्षेत्रमा पर्ने जग्गा र रुख कटान गर्नका लागि बन तथा वातावरण मन्त्रालयसँग समन्वय गरिसकेकाले सम्वन्धित आयोजनाले काम अघि बढाउन सक्ने मन्त्री बास्कोटाले बताए ।

त्यस्तैगरी, चुनढुङ्गा उत्खनन कार्य गर्न, पत्थरकोइला उत्खनन योजना सञ्चालन गर्न, पाथिभरादेवी दर्शन केबलकार योजना सञ्चालनमा बन क्षेत्रको अनुमति दिइएको छ । त्यस्तै बर्दघाट सुस्ता पश्चिम(नवलपरासी) र बर्दघाट सुस्ता(पूर्व) नवलपरासी का जिल्लामा बन पैदावार आपूर्ति समिति गठन गर्न समेत मन्त्रिपरिषद्ले स्वीकृत दिएको छ । त्यस्तै, बसोवास क्षेत्रका रुख हटाउन र मुक्त कमैया बसोबास क्षेत्रका रुख हटाइ व्यवस्थापन गर्न समेत मन्त्रीषद्ले निर्णय गरी स्वीकृत दिएको छ ।