कृषि तथा पशुपक्षीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिबृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई विदेश पलायन हुनबाट रोक्न, वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यावसायिक बनाउनका लागि यस प्रकारको ऋण दिने योजना सार्वजनिक गरिएको बैङ्कले जनाएको छ ।
काठमाडौं : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले ७ प्रकारका सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैङ्कले सोमबार सार्वजनिक गरेको निर्णयअनुसार ऋणीहरुलाई ३ लाखदेखि ५ करोडसम्मको ऋण दिने भएको हो ।
कृषि तथा पशुपक्षीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिबृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई विदेश पलायन हुनबाट रोक्न, वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यावसायिक बनाउनका लागि यस प्रकारको ऋण दिने योजना सार्वजनिक गरिएको बैङ्कले जनाएको छ ।
यस्तै वाणिज्य बैङ्कले महिला उद्यमशीलताको विकास गर्न, दलित समुदायको परम्परागत सीपलाई आधुनिकीकरण गर्नका लागि सहुलियतपूर्ण कर्जाको अवधारणा ल्याइएको बताएको छ ।
बैङ्कले दिने यस प्रकारको कर्जामा १० लाखसम्मका लागि साधारण, १० लाखभन्दा बढीका लागि विस्तृत परियोजना प्रस्ताव, परियोजनाको बिमा गराउनु पर्नेको हकमा बिमाको पोलिसी बैङ्कमा पेश गर्नुपर्ने छ । त्यसैगरी कर्जाको अवधि बढीमा ५ वर्षको हुनेछ भने कर्जा किस्ताबन्दीमा दिइने छ । राष्ट्रिय वाणिज्य बैङ्कको आधारदरमा २ प्रतिशत जोडेर ब्याजदर तय गरिने बताइएको छ ।
वाणिज्य बैङ्कले दिने ७ प्रकारका कर्जाहरु :
१. व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा (५ करोडसम्म)
२. शिक्षित युवा स्वरोजगार कर्जा (७ लाखसम्म)
३. वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा (१० लाखसम्म)
४. महिला उद्यमशीलता कर्जा (१५ लाखसम्म)
५. दलित समुदाय व्यवसाय कर्जा (१० लाखसम्म)
६. उच्च र प्राविधिक तथा व्यावसायिक कर्जा (५ लाखसम्म)
७. भूकम्प पीडितको निजी निर्माण कर्जा (३ लाखसम्म)