पछिल्लो समयमा वित्तीय क्षेत्रमा कर्जा योग्य रकमको अभाव भएपछि त्यसको नकारात्मक असर सेयर बजारमा देखिएको छ ।
सेयर बजार घट्ने क्रम मङगलबार पनि कायम रह्यो । यो साताको पहिलो दिन आइतबार ७ अङ्कभन्दा धेरैले घटेको सेयर बजार सूचक मङ्गलबार १७.३९ अङ्कले घटेको हो ।
पछिल्लो समयमा वित्तीय क्षेत्रमा कर्जा योग्य रकमको अभाव भएपछि त्यसको नकारात्मक असर सेयर बजारमा देखिएको छ । बैङ्कहरुले कर्जा प्रवाहमा गरेका नियन्त्रण तथा निक्षेप तान्नका लागि बढाएको ब्याजदरले सेयर बजार ओरालो लागेको हो । केही साताअघि मात्र १३ सयको लाइनमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनः फर्केर १४५६ सम्म पुगेको थियो । त्यो सुधारको क्रम लामो समय टिक्न सकेन ।
पछिल्ला केही दिनमा नेप्सेमा आएको गिरावटले पुनः १३ सयको हाराहारीतर्फ डो¥याएको देखिन्छ । बैङ्क वित्तीय संस्थाको पुँजी वृद्धिका कारण धितोपत्र बजारमा सेयरको आपूर्ति अधिक भएको समयमा ब्याजदरमा गिरावट आएपछि समग्र बजार घटेको हो ।
मङ्गलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आई ३८ करोडमा सीमित भएको छ । घट्दो बजारमा कारोबार रकम घट्नु भनेको लगानीकर्ताको मकनोबल तत्काल सेयर खरिद गर्ने नभएको स्पष्ट हुन्छ । मङ्गलबारको कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा आधाले कम हो ।
नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक कारोबार सुरु भएदेखि बन्द हुँदासम्म नकारात्मक नै रह्यो । कारोबार सुरु हुँदा १४३१.१ अङ्कमा रहेको नेप्से १७.३९ अङ्कले घटेर बन्द हुँदा १४१३.७१ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स पनि ३.७९ अङ्कले घटेको छ । कारोबार भएका सम्पूर्ण समूहगत सूचक पनि ओरालो नै लागेका छन् ।
मङ्गलबार नेप्सेमा १५४ कम्पनीको ४ हजार ४ सय २१ कारोबारबाट ३६ करोड २२ लाख रुपैयाँ बराबरको ८ लाख ११ हजार ७ सय ५९ कित्ता सेयर किनबेच भए ।