मंगलबार बसेको समितिको बैठकले २१ ओटा गौरवका आयोजनाले गरेको सम्पादित कार्यलाई सूक्ष्म रुपमा अनुगमनलाई अघि बढाउन निर्देशन दिएको हो ।
काठमाडाैं । संघीय संसद अन्र्तगतको प्राविधिक तथा विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको शुक्ष्म अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले २१ ओटा गौरवका आयोजनाले गरेको सम्पादित कार्यलाई शुक्ष्म रुपमा अनुगमनलाई अघि बढाउन निर्देशन दिएको हो ।
पछिल्लो समय गौरवका आयोजनाको प्रगति निकै सुस्त रहेको भन्दै समितिले गुणस्तर परिक्षण र प्राविधिक प्रगति प्रतिवेदन समितिमा उपलव्ध गराउन आग्रह गरेको समितिकी सभापति कल्याण खड्काले बताइन् ।
उनले केन्द्रले आयोजना निर्माणमा भइरहेको कार्य र हुन सक्ने भष्ट्रचार एवं अनियमितताबारे शुक्ष्म रुपमा अनुगमन गर्नुपर्ने सुझाव दिइन् ।
बैठकमा समिति सदस्यहरुले गौरवका आयोजनामा भइरहेको ढिलाई, आयोजनामा हुने अनियमिता, गुणस्तर मापन, अनुगमन, आयोजना पक्ष र ठेकेदारको मिलेमतोका कारण आयोजना अघि बढ्न नसकेको बताएका थिए ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले गौरवका आयोजनाको अनुगमनमा सर्तकर्ता केन्द्रले नियमित अनुगमन गर्नुपर्ने बताए ।
त्यस्तै, समिति सदस्य जीपछिरिङ लामाले अन्तर मन्त्रालयगत समन्वयन नहुँदा आयोजना अघि बढ्न नसक्ने बताए । ‘एउटा आयोजनाको ठेक्का पाएपनि काम गर्ने वातावरण छैन’ उनले भने, ‘कतै पोल सार्नुपर्ने, रुख काट्नुपर्ने, जग्गा अधिग्रहण गर्नै मुस्किल छ । यसलाई एकद्धार नीति ल्याएर कार्यान्वयन गर्नुपर्छ ।’
त्यस्तै, समिति सदस्य रामबहादुर विष्ठले ठूलालाई चैन सानालाई ऐनका कारणले आयोजना बन्न नसकेको बताए ।
सांसद गणेश पहारीले सडक र पुलको गुणस्तर हेर्नका लागि आधिकारीक निकाय नहुन्दा समस्या उव्जिएको बताए । सांसद केदार सिग्देलले प्रशासनिक निकायबीच स्वच्छ प्रतिष्पर्धा हुन नसक्दा गौरवका आयोजना अघि बढ्न नसकेको बताए ।