चुक्तापुँजी बढाउन सीबीआईएलले निष्कासन गरेको ३ लाख कित्ता हकप्रद सेयर खरिद गरेर कोषले १७ प्रतिशत हिस्सा लिएको हो ।
काठमाडौं : कर्मचारी सञ्चय कोषले मर्चेन्ट बैङ्कर सीबीआईएल क्यापिटल लिमिटेडको १७ प्रतिशत सेयर खरिद गरेको छ । सञ्चय कोषले सीबीआईएलमा ३ करोड रुपैयाँ लगानी गरेको छ ।
चुक्तापुँजी बढाउन सीबीआईएलले निष्कासन गरेको ३ लाख कित्ता हकप्रद सेयर खरिद गरेर कोषले १७ प्रतिशत हिस्सा लिएको हो । कोषले गत साता सेयर खरिद गरेको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बताए । कोषले लगानी गरेपछि संस्थाको चुक्तापुँजी २० करोड रुपैयाँ पुगेको उनले जानकारी दिए ।
निष्कासन गरिएको सबै हकप्रद सेयर कोषले खरिद गरेपछि मर्चेन्ट बैङ्करसम्बन्धित थप व्यवसाय अघि बढाउन बाटो खुला भएको छ । सीबीआईएलको १२ औं वार्षिक साधारणसभाले १७ प्रतिशत हकप्रद सेयर निष्कासनको निर्णय गरेको थियो । यसअघि संस्थाको चुक्तापुँजी १७ करोड रुपैयाँ थियो ।
कम्पनीले ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता साधारणसेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उसले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ निष्कासन गर्न ढिलाइ भएपछि तत्काल हकप्रद सेयर निष्कासन गरेर चुक्तापुँजी २० करोड रुपैयाँ पुर्याएको हो । आईपीओ निष्कासनपछि सीबीआईएलको चुक्तापुँजी २३ करोड रुपैयाँ पुग्ने छ ।
सीबीआईएलको माउ कम्पनी सिटिजन्स बैङ्क हो । यस्तै नागरिक लगानी कोष पनि यसको संस्थागत लगानीकर्ता हो । कम्पनीमा सिटिजन्स बैङ्कको ६० प्रतिशत स्वामित्व छ ।
न्यूनतम पुँजी पुगिसकेकाले सीबीआईएलले कर्पोरेट एडभाइजरी, सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यावसायिक योजना, लोन सिन्डिकेसन, चालू पुँजीका लागि क्यापिटल फाइनान्सिङ, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी तथा हेज फन्ड जस्ता कोष सञ्चालन एवम् सम्पत्ति व्यवस्थापनलगायतका विषयमा परामर्श सेवा प्रदान गरिने जिम्मेवारी संस्थागत परामर्शदाताको काम गर्ने भएको छ ।