एशियन लाइफको ‘दम्पती सुरक्षा प्लस’ बिमा योजना सार्वजनिक

योजना अनुसार विमितले ५० हजार देखि माथि जतिसुकै रकमको बीमा गर्न सक्नेछन् । यो बिमा योजना खरिद गर्नेहरुले मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा बिमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ ।

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘दम्पती सुरक्षा प्लस’ जीवन बिमा योजना ल्याएको छ । संयुक्त सावधिक बिमा योजनाका रुपमा ल्याइएको योजनामा एउटै बिमालेखबाट श्रीमान श्रीमती दुवै जनाको जोखिम बहन हुने कम्पनीले जनाएको छ ।

यस योजनाअनुसार बिमितले ५० हजारदेखि माथि जतिसुकै रकमको बिमा गर्न सक्नेछन् । यो बिमा योजना खरिद गर्नेहरुले मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा बिमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ ।

यस योजनामा दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग अशक्त सुविधा एवं बिमा शुल्क छुट सुविधा पनि समावेश गरिएको छ । यस्तै बिमा अवधि समाप्त हुने मितिसम्म दुवै बिमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस सुविधा प्राप्त गर्नेछन् ।

बिमा अवधिभित्र दुईमध्ये एक बिमितको मृत्यु भएमा बीमाङ्कको १ सयदेखि २ सय ५० प्रतिशत रकम र आर्जित बोनस पाउनेछन् । यसै गरी कम्पनीले बिमा अवधिभित्र अर्को बिमितको पनि मृत्यु भएमा बीमाङ्कको १ सयदेखि २ सय ५० प्रतिशत रकम भुक्तानी गर्नेछ ।

बिमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बिमाङ्क रकम दिने कम्पनीले जनाएको छ ।