एनआईसी एसिया बैङ्कले ४ अर्बको ऋणपत्र ल्याउँदै, वार्षिक १० प्रतिशत ब्याज दिने

बोर्डबाट स्वीकृत भएपछि ऋणपत्र निष्कासन गर्ने उनले जानकारी दिए । बैङ्कले ल्याउन लागेको यो वर्षको सबैभन्दा ठुलो ऋणपत्र हो । बैङ्कले दीर्घकालीन निक्षेप परिचालन गर्न ऋणपत्र निष्कासन गरेको हो ।

काठमाडौं : एनआईसी एसिया बैङ्कले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ४ अर्ब रुपैयाँको ऋणपत्र (डिबेन्चर) ल्याउने भएको छ । बैङ्कले १० वर्षका लागि प्रतिकित्ता १ हजार रुपैयाँका ४० लाख कित्ता एनआईसी एसिया डिबेञ्चर ल्याउन लागेको हो । ऋणपत्रको अवधि आर्थिक वर्ष ०८५/०८६ रहेको बैङ्कले जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाइसकेको र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको बैङ्कका जनसम्पर्क अधिकृत अर्जुनराज खनियाँले बताए । बोर्डबाट स्वीकृत भएपछि ऋणपत्र निष्कासन गर्ने उनले जानकारी दिए । बैङ्कले ल्याउन लागेको यो वर्षको सबैभन्दा ठुलो ऋणपत्र हो । बैङ्कले दीर्घकालीन निक्षेप परिचालन गर्न ऋणपत्र निष्कासन गरेको हो । बैङ्कसँग १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप छ ।

बैङ्कले निष्कासन गरेको ऋणपत्र पूरै बिक्री हुने उनले दाबी गरे । मुद्दती निक्षेपको ब्याजदर घटेर एक अङ्कमा आएको र ऋणपत्रले बढी ब्याज दिएकाले बिक्री हुने उनको जिकिर छ । ऋणपत्र निष्कासन प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैङ्कर लिमिटेड नियुक्त भएको छ ।

साउनयता बैङ्कले यसअघि वार्षिक ११ प्रतिशत वार्षिक ब्याज दिने गरी १ अर्ब ८३ करोड रुपैयाँ बराबरको १८ लाख ८३ हजार कित्ता ऋणपत्र निष्कासन गरिसकेको छ ।

यस्तै ग्लोबल आईएमई बैङ्कले पनि वार्षिक १०.५ प्रतिशत ब्याज दिने गरी १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । चालू आर्थिक वर्षमा सानिमा बैङ्क र सिद्धार्थ बैङ्कले ऋणपत्र निष्कासन गरिसकेका छन् । दुवै बैङ्कको ऋणपत्र बिक्री भएन । बैङ्कको ब्याजदरको असर डिबेन्चरमा परेको बैङ्करको भनाइ छ । सानिमा बैङ्कको एक तिहाइ र सिद्धार्थको अधिकांश डिबेन्चर बिक्री भएनन् ।

बोर्डले निर्देशिकामा परिमार्जन गरी ऋणपत्र निष्कासनको ४० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्नुपर्ने वाध्यकारी व्यवस्था ल्याएको छ । यसअघि ८० प्रतिशत संस्थागत र २० प्रतिशत मात्र सर्वसाधारणलाई निष्कासन हुँदै आएकोमा अब ६० प्रतिशत मात्र संस्थालाई बिक्री गर्नुपर्ने भएको छ ।