लुम्बिनीमा निर्माणधीन चार्जिङ स्टेसनको काम ७० प्रतिशत सकियो, डेढ महिनाभित्र सञ्चालनमा ल्याइने

चार्जिङ स्टेसन सञ्चालनमा आएपछि इलेक्ट्रिक गाडी ४५ मिनेटमा फुल चार्ज हुनेछ । लुम्बिनीका लागि ल्याइएका दुइ इलेक्ट्रिक बस चार्जिङ स्टेशनको अभावले काठमाडौं ग्यारेजमा थन्किएका छन् ।

काठमाडौं । लुम्बिनीमा निर्माण भइरहेको चार्जिङ स्टेसनको काम ७० प्रतिशत सकिएको छ । एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा लुम्बिनी क्षेत्र विकास कोष सङ्ग्रालयनजिक बनिरहेको उक्त चार्जिङ स्टेसनका मेसिन तथा उपकरणहरु आइसकेको कोषका सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए ।

१४ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त चार्जिङ स्टेसन डेढ महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको भट्टराईले बताए । ‘चार्जिङ स्टेसनको काम तीव्ररुपमा भइरहेको छ । हालसम्म ७० प्रतिशत काम सकिएको छ’ उनले भने, ‘आवश्यक मेसिन तथा उपकरण पनि विदेशबाट आइसकेकाले अबको डेढ महिनाभित्र काम सक्छौं ।’

चार्जिङ स्टेसनसँगै ११०० किलोवाट पावर उत्पादन गर्न सोलार प्यानल राखिने भएको छ । चार्जिङ स्टेसनका लागि २ मेगावाट विद्युत् पनि सोलार प्यानलबाट उत्पादित पावरबाट पूर्ति गरिने भट्टराईले बताए ।

चार्जिङ स्टेसन सञ्चालनमा आएपछि इलेक्ट्रिक गाडी ४५ मिनेटमा फुल चार्ज हुनेछ । लुम्बिनीका लागि ल्याइएका दुई इलेक्ट्रिक बस चार्जिङ स्टेसनको अभावमा काठमाडौं ग्यारेजमा थन्किएका छन् ।