अन्तर्राष्ट्रिय व्यापार विस्तारमा नेपाल पुनर्बीमा कम्पनी, एएमबीएसले रेटिङ गर्दै

गत वर्ष नेपाल पुनर्बीमाले विदेशबाट १ अर्ब रुपैयाँ पुनर्बीमा शुल्क प्राप्त गरेको थियो । कम्पनीले ७५ करोड रुपैयाँ पुनर्बीमाका लागि विदेश पठाएको थियो । रेटिङ गरेपछि कम्पनीको पुनर्बीमा शुल्क आम्दानी बढ्ने उनको भनाइ छ ।

काठमाडौं : अन्तर्राष्ट्रियस्तरमा व्यापार विस्तार गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो रेटिङ (स्तर निर्धारण) गर्ने भएको छ । कम्पनीले रेटिङका लागि काम अघि बढाएको छ ।

रेटिङका लागि एएमबीएससँग पत्राचार भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए । अन्य एजेन्सीले सम्बन्धित मुलुकको स्थानीय एजेन्सीले रेटिङ नगरेका कम्पनीको रेटिङ नगर्ने भएकाले एएमबीएससँग पत्राचार भइरहेको उनले सुनाए । देशको रेटिङ नभए पनि एएमबीएसले कम्पनीको रेटिङ गर्ने उनको भनाइ छ ।

विदेशबाट पुनर्बीमा व्यवसाय ल्याउन कम्पनीको रेटिङ आवश्यक पर्ने उनको भनाइ छ । ‘रेटिङअनुसार अन्तर्राष्ट्रिय बजारमा पुनर्बीमा कम्पनीले व्यवसाय पाउने छ,’ उनले भने, ‘राम्रो रेटिङ पाए धेरै र नभए थोरै व्यवसाय पाउने छ ।’

गत वर्ष नेपाल पुनर्बीमाले विदेशबाट १ अर्ब रुपैयाँ पुनर्बीमा शुल्क प्राप्त गरेको थियो । कम्पनीले ७५ करोड रुपैयाँ पुनर्बीमाका लागि विदेश पठाएको थियो । रेटिङ गरेपछि कम्पनीको पुनर्बीमा शुल्क आम्दानी बढ्ने उनको भनाइ छ । ‘रेटिङपछि आगामी केही वर्षपछि पुनर्बीमावापत विदेश जाने अर्बौं रुपैयाँ कम्पनीले पाउने छ,’ उनले भने, ‘विस्तारै पुनर्बीमाका नाममा विदेशिने रकम रोकिनुका साथै विदेशबाट पुनर्बीमावापत् ठूलो रकम पुनर्बीमा शुल्क आउने छ ।’ उनका अनुसार कम्पनीले हाल भारत र भुटानबाट पुनर्बीमा शुल्क प्राप्त गरेको छ ।

कम्पनीको पुँजीगत आधार बलियो हुँदै गएकाले विदेशबाट पुनर्बीमा व्यवसाय आउने देखिएको भण्डारी बताउँछन् । रेटिङ नै नगरी विदेशबाट पुनर्बीमा शुल्क आएको छ भने रेटिङपछि थप आउने उनको भनाइ छ । यो वर्ष पनि पुनर्बीमा व्यवसाय बढ्ने उनले जानकारी दिए ।

आगामी दुई महिनाभित्र साधारण प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको कम्पनीले ‘कन्ट्री रेटिङ’ नगरी ‘अन्तर्राष्ट्रिय रेटिङ’ गर्ने भएको हो । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँबराबरका १ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्दै छ । आईपीओ निष्कासनपछि चुक्ता पुँजी १० अर्ब पुग्ने छ । कम्पनीले हाल विभिन्न देशमा बिमाको व्यापार फैलाउँदै लगेको छ । सर्वसाधारणमा सेयर जारीपछि अन्तर्राष्ट्रिय रेटिङ गर्दा सहज हुने भएकाले प्रक्रिया अघि बढाइएको कम्पनीले बताएको छ ।

भण्डारीका अनुसार सर्वसाधारणका लागि सेयर निष्कासनपछि रेटिङ गर्दा राम्रो रेटिङ पाइन्छ । यदि अन्तर्राष्ट्रिय रेटिङ उत्कृष्ट भयो भने अन्य देशका कम्पनीले नेपाल पुनर्बिमा कम्पनीलाई विश्वास गर्ने र व्यापार विस्तारमा सहज हुने उनको तर्क छ । भण्डारीले भने, ‘हुन त अहिले पनि यस कम्पनीलाई अन्तर्राष्ट्रिय कम्पनीले विश्वास गरेका छन्, तर, राम्रो रेटिङ पाएपछि थप विश्वासको वातावरण बन्छ, र व्यापार विस्तारमा कोशेढुङ्गा साबित हुन्छ ।

गत आर्थिक वर्षमा पुनर्बीमा कम्पनीले १ अर्ब रुपैयाँ खुदनाफा गरेको छ । चालू आर्थिक वर्षमा कम्पनीले २ अर्ब नाफा गर्ने लक्ष्य लिएको छ ।