माथिल्लो तामाकोसी आयोजनाको लट २ को बाँकी काम एन्ड्रिज हाइड्रोले गर्ने, आउँदो कात्तिकमा बिजुली बल्ने पक्का

यो सम्झौताबाट आगामी वर्षको कात्तिकसम्म आयोजनाबाट बिजुली बल्ने लगभग निश्चित भएको उनले बताए । यसबाट आयोजनामा देखिएको अन्यौलता हटोको उनको भनाइ छ ।

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लट २ को बाँकी काम अष्ट्रियाको एन्ड्रिज हाइड्रोले पूरा गर्ने भएको छ ।

लट २ को बाँकी काम पूरा गर्न प्रवर्द्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेड, हालको ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेड र एन्ड्रिजबीच त्रिपक्षीय सम्झौता भएको छ । आयोजनालाई थप भार नपर्ने गरी लट २ को बाँकी कामका लागि नयाँ सम्झौता भएको अपरतामाकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

यो सम्झौताबाट आगामी वर्षको कात्तिकसम्म आयोजनाबाट बिजुली बल्ने लगभग निश्चित भएको उनले बताए । यसबाट आयोजनामा देखिएको अन्यौलता हटोको उनको भनाइ छ । एन्ड्रिजले लट टु अन्तर्गत लोअर पेनस्टक, ब्रिफुकेसन र डिस्टव्युटर्सलगायतका बाँकी काम गर्ने उनले सुनाए । एन्ड्रिजले लट ३ अन्तर्गत इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको थियो ।

पछिल्लो २ महिनापछि आयोजनामा देखिएको अन्यौलता अब हटेको उनको भनाइ छ । आयोजनाको ९७ प्रतिशत काम सकिएको छ । लट २ अन्तर्गत हाइड्रो मेकानिकलकोको काम गर्न नसकेपछि तामाकोसीले विकल्पमा बाँकी काम एन्ड्रिजलाई दिन लागेको हो । सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको हो ।

आयोजना निर्माणको सुरुदेखि नै लट–२ को ठेकेदारले काममा ढिलाई गर्दै आएको थियो । जसका कारण आयोजनाको काम प्रभावित हुँदै आएको थियो । लट–२ अन्तर्गत बाँधको गेट निर्माण, भर्टिकल पेनस्टक साफ्ट, ठाडो सुरुङ जडानलगायत काम पर्छ । यस लटमा पेनस्टकको सम्पूर्ण काममध्ये तल्लो पेनस्टकको हिस्सा करिब ७४ प्रतिशत हुन्छ । चार लटमा बाँडेर सुरु भएको निर्माणको अन्य काम करिब अन्तिम चरणमा छ ।

आयोजना निर्माणमा अहिलेसम्म करिब ४३ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाले विद्युतगृह गोंगरदेखि खिम्तीसम्म ४७ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । आयोजनाको सिभिल निर्माणको काम चीनको सिनो हाइड्रो कर्पोरेशन, लट ३ को एन्ड्रिज र लट ४ अन्तर्गत प्रसारणलाइनको काम भारतको केईसी इन्टरनेसनल लिमिटेडले गरिरहेको छ ।