रेमिट्यान्स पठाउनेमा भारत पहिलो

ग्लोबल आईएमई बैङ्क र आईएमई मनी ट्रान्सफर कम्पनी मिलेर २०७०/७१ मा भारतको युनाइटेड बैङ्क अफ इन्डियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउने सहमति गरेपछि भारतबाट आउने रेमिट्यान्समा उल्लेख्य सुधार आएको छ । अहिले आईएमईले भारतका आईडीबीआई, एस बैङ्क, अक्सिजन, मुथहुड फाइनान्स, वाइजम्यानलगायतको साझेदारीमा रेमिट्यान्स भित्र्याउने गरेको छ ।

विदेशी भूमिमा काम गरेर नेपाल पठाउने आम्दानीमा भारतको हिस्सा बढ्दै गएको छ । कुनै बेला भारतीय हिस्सा नदेखिने रेमिट्यान्स (विप्रेषण)मा यतिबेला भारतबाट आउने रकम सबैभन्दा बढी देखिन थालेको छ । चालू आर्थिक वर्षको ३ महिनाको विवरण हेर्दा भारत नेपालमा रेमिट्यान्स पठाउने पहिलो मुलुकमा पर्छ । चालू वर्षको असोजसम्म १ खर्व ७६ अर्ब ३२ करोड रुपैयाँमध्ये भारतबाट मात्रै २५ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

तीन महिना अवधिमा दोस्रोमा रहेको कतारबाट २५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षभरिमा भने भारतबाट ९० अर्ब ८४ करोड भित्रिएर तेस्रोमा थियो भने सो वर्ष कतारबाट सबैभन्दा बढी १ खर्ब ४ अर्ब १३ करोड रुपैयाँ नेपाल भित्रिएको छ । सो वर्ष दोस्रो रेमिट्यान्स पठाउने मुलुकमा साउदी अरब ९८ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैङ्क, अनुसन्धानन विभागका कार्यकारी निर्देशक नरबहादुर थापा भारतबाट औपचारिक माध्यमबाट रेमिट्यान्स आउन थालेकाले त्यसको प्रभाव देखिन थालेको बताउँछन् । ‘भारतबाहेक अन्य मुलुकको रोजगारीमा ‘स्याचुरेसन’ पुगिसकेको छ,’ उनले भने, ‘ भारतको आर्थिक वृद्धि पनि राम्रो भएको त्यसको प्रभाव ज्यालामा पनि पर्न सक्छ । ‘पछिल्लो समय भारतमा काम गर्ने महिलाको सङ्ख्या पनि बढ्दै गएकाले रेमिट्यान्समा प्रभाव बढेको मान्नेहरू पनि छन् । अन्य मुलुकमा विदेशी मुद्रा विनिमयको असर पनि पर्छ, जुन भारतमा हुँदैन । अहिलेकै अवस्थामा हेर्ने हो भने मलेसियन रिङ्गेटको विनिमय कमजोर हुँदा त्यसको असर नेपाली कामदारलाई पनि परेको छ ।

 

(आर्थिक वर्ष २०७०/७१ को विवरण विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्थाहरूको कारोबार र निरीक्षणसम्बन्धी त्रैमासिक प्रतिवेदन (आव २०७०/७१ को चौथो त्रैमास)बाट रेमिट्यान्स कम्पनी र वाणिज्य बैङ्कबाट आएको रकम जोडेर निकालिएको हो भने २०७२/७३, २०७३/७४ र २०७४/७५ को ३ महिनाको हिसाब राष्ट्र बैङ्कबाट लिइएको हो । यो रकम करोडमा हो । )

ग्लोबल आईएमई बैङ्क र आईएमई मनी ट्रान्सफर कम्पनी मिलेर २०७०/७१ मा भारतको युनाइटेड बैङ्क अफ इन्डियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउने सहमति गरेपछि भारतबाट आउने रेमिट्यान्समा उल्लेख्य सुधार आएको छ । अहिले आईएमईले भारतका आईडीबीआई, एस बैङ्क, अक्सिजन, मुथहुड फाइनान्स, वाइजम्यानलगायतको साझेदारीमा रेमिट्यान्स भित्र्याउने गरेको छ । त्यसैगरी ग्लोबल आईएमईले भारतमा प्रतिनिधि कार्यालय पनि खोलिसकेको छ । यसले रेमिट्यान्स भित्र्याउन अझ सहज भएको आईएमई मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरलले जानकारी दिए । त्यसअघि भारतबाट नेपाल एसबीआई बैङ्कले स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)मार्फत रेमिट्यान्स भित्र्याउने गरेपनि प्रभावकारी हुन सकेको थिएन ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्थाहरुको कारोबार र निरीक्षणसम्बन्धी त्रैमासिक प्रतिवेदन (आव २०७०/७१ को चौथो त्रैमास)मा रेमिट्यान्स कम्पनी र वाणिज्य बैङ्कबाट भित्रिएको रेमिट्यान्समा भारतीय हिस्सा बढी रेमिट्यान्स भित्रिने १४ मुलुकमा अटाउन सकेको थिएन ।

उता, भारतीय हिस्सा रेमिट्यान्समा बढ्दए गएसँगै अमेरिकी हिस्सा १४ मुलुकको सूचीबाट हराएको छ । नेपाल राष्ट्र बैङ्कले तयार पारेको पछिल्लो २ वर्षको रेमट्यिान्स भित्रिने मुलुकको मुख्य सूचीमा अमेरिका छैन । भारतमा काम गर्न जाने व्यक्तिको रेकर्ड नहुने भए पनि अन्य मुलुकमा भने कति कामदार छन् भन्ने तथ्य वैदेशिक रोजगार विभागले राख्ने गरेको छ । तर, अमेरिकालगायत कतिपय मुलुकमा विद्यार्थी भिसामा विदेश जाने र त्यहाँ लुकेर काम गर्ने गर्दा पनि आधिकारिक तथ्याङ्क बाहिर देखिँदैन । हाल भारतमा करिब ४० लाख नेपालीले काम गरेको अनुमान छ भने अन्य मुलुकमा पनि करीव त्यति नै जनशक्ति क्रियाशील रहेको अनुमान छ ।

आर्थिक वर्ष २०७०/७१ मा विप्रेषण आप्रवाह ५ अर्ब ५४ करोड अमेरिकी डलर अर्थात् ५ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा रेमिट्यान्सबापत ६ खर्व ९५ अर्ब ४५ करोड रुपैयाँ मुलुक भित्रिएको थियो भने सो वर्ष ३ लाख ९८ हजार ९ सय ७८ जना रोजगारीका बिदेसिएका थिए । यसअघि सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १२ हजार ८ सय ८७ जना नेपाली कामको खोजीमा विदेशीएका थिए ।