कृषि विकास बैङ्कको २० प्रतिशत बोनस

बैङ्कले आव २०७३/७४ मा १ खर्ब ९ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो ।

कृषि विकास बैङ्क लिमिटेडले आव २०७३÷७४ को लाभांशबाट २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैङ्कले आर्थिक वर्ष २०७३/७४ मा ९९ अर्ब ९२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।

बैङ्कद्वारा आयोजित पत्रकार भेटघाटमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप सङ्कलन वृद्धि भएको जानकारी दिए । बैङ्कले आव २०७३/७४ मा १ खर्ब ९ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैङ्कको चुक्ता पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँ छ ।

प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैङ्कलाई अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै छिट्टै इन्टरनेट बैङ्किङ सेवामा जाने तयारी भइरहेको जानकारी दिए ।