गल्छी–रसुवागढी सडक निर्माण तीव्र गतिमा, ३५ प्रतिशत सकियो

गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–तुदी–रसुवा कन्स्ट्रक्सन जेभीमार्फत भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किमी सडकको ट्र्याक खोल्ने जिम्मेवारी पूरा गरी नेपाली सेनाले गत चैत ३० मा आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ । स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ ।

बेत्रावती । ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने उक्त सडक ८२ किमीको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ ।

सरकारले उक्त सडक आयोजनाका लागि ९ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–तुदी–रसुवा कन्स्ट्रक्सन जेभीमार्फत भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किमी सडकको ट्र्याक खोल्ने जिम्मेवारी पूरा गरी नेपाली सेनाले गत चैत ३० मा आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ । स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ ।

सो आयोजनाअन्तर्गत नुवाकोट पीपलटारदेखि ढुङ्गेसम्मका प्रभावित स्थानीयवासीले मुआब्जाको माग गर्दै आज दुई घण्टा सडक अवरुद्ध पारेका छन् ।

आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण २०३४ सालको राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सवारी साधन सञ्चालनमा अवरोध पुर्याएका छन् ।

मुआब्जा पीडित सङ्घर्ष समितिको आयोजनामा मध्याह्न १२ देखि अपराह्न २ बजेसम्म गरिएको बन्दले नुवाकोट हुँदै चल्ने छोटो तथा लामो दूरीका सबै सवारी साधन ठप्प बनेका थिए । रासस