मुद्दती निक्षेपमा आकर्षण, निश्चित ब्याजदरले निक्षेपकर्तामा उत्साह

बैङ्क तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा ब्याजदरको मात्रा बढाउँदै लग्दा निक्षेपकर्ता पनि त्यतै आकर्षित भएका हुन् । विगतमा बचतमा केन्द्रित निक्षेपकर्ताहरु मुद्दती निक्षेपमा तानिएपछि समग्रमा निक्षेपको पोर्टफोलियोमै परिवर्तन देखिएको छ ।

काठमाडौं : निश्चित समयावधि तोकेर राखिने निक्षेपमा आकर्षण बढ्दै गएको छ । बैङ्क तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा ब्याजदरको मात्रा बढाउँदै लग्दा निक्षेपकर्ता पनि त्यतै आकर्षित भएका हुन् । विगतमा बचतमा केन्द्रित निक्षेपकर्ताहरु मुद्दती निक्षेपमा तानिएपछि समग्रमा निक्षेपको पोर्टफोलियोमै परिवर्तन देखिएको छ ।

गत महिनासम्म मुद्दती निक्षेपमा ब्याज बढाउन बैङ्कहरुले तँछाडमछाड गरेका थिए । उनीहरुले त्यति बेला मुद्दती निक्षेपमा साढे १३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेका थिए । निक्षेप सङ्कलनमा जहिले पनि मुद्दतीको ब्याजदर बढी हुने भए पनि पछिल्ला केही वर्षमा मात्रै मुद्दती निक्षेपमा निक्षेपकर्ताहरु आकर्षित हुन थालेका हुन् । विगतमा संस्थाहरुले मात्रै मुद्दती निक्षेपमा रकम राख्ने गरेकोमा पछिल्लो समय व्यक्तिहरु पनि मुद्दती निक्षेपमा तानिएका हुन् ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ५ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले पनि मुद्दती निक्षेप ह्वात्तै बढेको देखाएको छ । २०७३ असोजमा ३०.५ प्रतिशत रहेको मुद्दती निक्षेप २०७५ असारमा आइपुग्दा ४४.८ प्रतिशत पुगेको छ । यद्यपि वार्षिक रुपमा हेर्दा जुन अनुपातमा २०७३ असारबाट २०७४ असारमा मुद्दती निक्षेप बढेको छ, त्यही अनुपातमा २०७४ असारको तुलनामा २०७५ असारमा धेरै वृद्धि भएको देखिँदैन ।

तर २०७४ मङ्सिरमा ४१.९ प्रतिशत रहेको मुद्दती निक्षेप २०७५ मङ्सिरमा भने ४७.५ प्रतिशत पुगेको छ । राष्ट्र बैङ्कका अनुसार चल्ती प्रकृतिको निक्षेपमा खासै परिवर्तन देखिए पनि बचत, मुद्दती र अन्य प्रकृतिका बचतको पोर्टफोलियमो भने व्यापक परिवर्तन देखिन्छ । मुद्दती निक्षेपको रकम बढिरहेका बेला बचत र अन्य प्रकृतिको खातामा रहेको निक्षेप भने व्यापक घटेको छ ।

राष्ट्र बैङ्कका अनुसार चालू वर्ष बैङ्क तथा वित्तीय संस्थाहरुको निक्षेप वार्षिक रुपमा २०७५ मङ्सिरसम्म १९.८ प्रतिशतले बढेको छ । मङ्सिरसम्म बैङ्क तथा वित्तीय संस्थाहरुको ३० खर्ब १२ अर्ब ९२ करोड रुपैयाँ कुल निक्षेप छ ।

वाणिज्य बैङ्कहरुको मुद्दती निक्षेपमा देखिएको ब्याजदर प्रतिस्पर्धाले औसत आधार ब्याजदर (बेस रेट बढ्न पुगेको छ । २०७४ मङ्सिरमा ९.८७ प्रतिशत रहेको बेस रेट २०७५ मङ्सिरमा १०.३ प्रतिशत भएको छ । बेसरेट बढेपछि कर्जाको ब्याजदर बढ्ने गर्छ । बैङ्क तथा वित्तीय संस्थाले बेसरेटमा प्रिमियम थप गरी कर्जाको ब्याजदर तय गर्ने गर्छन् ।