विद्युत् प्राधिकरणले पीपीए गर्न ७ आयोजनाका प्रवर्द्धकलाई बोलायो, २ साताभित्र नआए टेक अर पेको सूचीबाट हट्ने

१५ दिनभित्र पीपीएका लागि बैंक ग्यारेन्टी लिएर आउन प्राधिकरणले प्रवर्द्धकलाई भनेको छ । सो मितिभित्र पीपीए गर्न नआएमा लेउ वा देउ नीति (टेक अर पे) पीपीएको सूचीबाट हटाइने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ७ जलविद्युत आयोजनाका प्रवर्द्धकलाई विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गर्न बोलाएको छ । ७ आयोजनाको जडित क्षमता ८२ मेगावाट छ ।

प्राधिकरणले ३ मेगावाटको मध्यदरम खोला ए र ४.५ मेगावाटको मध्यदरम खोला बी आयोजनाको प्रवर्द्धक धौलागिरि सिभिल, इलेक्ट्रिक मेकानिक इन्जिनियरिङ प्रालि, ४.९ मेगावाटको माथिल्लो पिलुवा हिल्स आयोजनाको प्रवर्द्धक मिल्के जलजले हाइड्रोपावर, ४.१ मेगावाटको सुपर सभाखोलाको प्रवर्द्धक संखुवासभा पावर डेभलपमेन्ट,४० माथिल्लो चमेलियाको प्रवर्द्धक अपी पावर कम्पनी लिमिटेड, १२ मेगावाटको सुपर कावेलीखोलाको प्रवर्द्धक हिल्टन हाइड्रो इनर्जी र १३.५ मेगावाटको कावेली खोला ए को प्रवर्द्धक स्नो रिभर्स प्रालिलाई पीपीए गर्न बोलाएको हो ।

१५ दिनभित्र पीपीएका लागि बैंक ग्यारेन्टी लिएर आउन प्राधिकरणले प्रवर्द्धकलाई भनेको छ । सो मितिभित्र पीपीए गर्न नआएमा लेउ वा देउ नीति (टेक अर पे) पीपीएको सूचीबाट हटाइने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

प्राधिकरण व्यवस्थापनले नदीको बहावमा आधारित (रन अफ दि रिभर) आयोजनाको पीपीए सीमा ५ हजार २५० मेगावाट रहेकाले सो नपुगन्जेलसम्म टेक अर पे पीपीए हुने उनले जानकारी दिए । अब करिब ४०० मेगावाट मात्र टेक अर पीपीए हुने छ ।