धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात सेवाले सिधा माइक्रो बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
गलकोट । बागलुङ जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातयात सेवा विस्तार गर्ने क्रम बढिरहेको छ ।
धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात सेवाले सिधा माइक्रो बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बुर्तिवाङबाट काठमाडौँ र काठमाडाैंबाट बुर्तिबाङका लागि दुई/दुई अाेटा दिवा माइक्रो बस सेवा सञ्चालनमा ल्याइएको धौलागिरि अञ्जल बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताए ।
‘‘अहिले हामी परीक्षण अवस्थामा छौँ’’, बागलुङ भगवती यातायात सेवाका अध्यक्ष दिलबहादुर पराजुलीले भने, “रुट परमिट प्रक्रियामा छ, रुट परमिट आइसकेपछि उपयुक्त भाडादर निर्धारण गरेर सेवालाई निरन्तरता दिन्छौँ ।” हाललाई बुर्तिबाङदेखि काडमाडौँसम्मको अस्थायी भाडादर प्रतिव्यक्ति एक हजार ६०० निर्धारण गरिएको छ ।
बागलुङदेखि बुर्तिवाङसम्म ९३ किलोमिटरमध्ये बागलुङ बजारदेखि बिहुँ खण्डको २५ किलोमिटरबाहेक सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको विस्तार तथा कालोपत्रे भएपछि ठूलो सङ्ख्यामा यातायातका साधान सञ्चालनमा आएपछि जिल्लाको पश्चिम क्षेत्रमा विकासले गति लिन थालेको छ । रासस