एनआईसी एसिया बैङ्कले आइतबारदेखि ४ अर्बको ऋणपत्र निष्कासन गर्दै, वार्षिक १० प्रतिशत ब्याज दिने

बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४ अर्ब रुपैयाँबराबरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन माघ १६ गते बन्द हुने बैङ्कले जानकारी दिएको छ ।

काठमाडौं । एनआईसी एसिया बैङ्कले आउँदो आइतबारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४ अर्ब रुपैयाँबराबरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन माघ १६ गते बन्द हुने बैङ्कले जानकारी दिएको छ ।

आगामी आर्थिक वर्ष ०८५/०८६ सम्म १० वर्षका लागि निष्कासन गरिएको ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको बैङ्कले जनाएको छ । बैङ्कले लगानी जुटाउन ऋणपत्र निष्कासन गरेको हो । यसअघि गत भदौमा पनि बैङ्कले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो । सो ऋणपत्र पूरै बिक्री भएको थियो ।

कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र बाँकी ६० प्रतिशत संस्थागत लगानीकर्तालाई ऋणपत्र बिक्री गर्ने बैङ्कले जानकारी दिएको छ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भई खरिदबिक्री गर्न सकिने र आश्यक परे धितो राखेर ऋण पनि लिन सकिने बैङ्कले जनाएको छ । पछिल्लो समयमा निक्षेपको ब्याजदर बढी भएपछि सिद्धार्थ बैङ्क र सानिमा बैङ्कले निष्कासन गरेको ऋणपत्र पुरै बिक्री भएनन् ।

एनआईसी एसियाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा १६४ प्रतिशतले बढाएको छ । गत पुससम्म बैङ्कले १ अर्ब ५१ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले ५७ करोड १८ लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।

गत वर्षको तुलनामा बैङ्कले ९४ करोड रुपैयाँ नाफा बढाएको बैङ्कका नायब प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाँले बताए । उनका अनुसार बैङ्कले वार्षिक बिन्दुगत आधारमा वासलातको आकार ५३ प्रतिशत बढाएर २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा बैंकको वासलातको आकार ७४ अर्ब रुपैयाँ बढेको छ ।

यस्तै बैङ्कको कर्जा लगानी ४८ प्रतिशत बढेर १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ पुगेको उनले जानकारी दिए । वार्षिक बिन्दुगत आधारमा बैङ्कले ४८ अर्ब रुपैयाँ कर्जा लगानी बढाएको छ ।

यस्तै निक्षेप सङ्कलन ४६ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनमा बैङ्कले ५५ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । निक्षेपका आधारमा एनआईसी देशको ठूलो बैङ्क भएको छ ।

नेपाल धितोपत्र बोर्डले अघिल्लो साता ऋणपत्र निष्कास गर्न बैङ्कलाई स्वीकृति दिएको थियो । पछिल्लो समयमा बैङ्कले पुँजी बढाउन ऋणपत्र निष्कासन गर्न थालेका छन् ।