विगत ३० वर्षदेखि विश्वभर एकछत्र राज गर्दै आएको ‘सिल्पोलिन’को विकल्पका रुपमा ‘सुपर पोलिन’ प्लाष्टिक आएको शिवम् प्लाष्टिकका निर्देशक निखिल अग्रवालले बताए ।
विराटनगर । भारतीय ‘सिल्पोलिन’ ब्रान्ड प्लाष्टिकको एकाधिकार अब तोडिने भएको छ । विराटनगरमा ९० करोड रुपैयाँ लगानीमा शिवम् प्लाष्टिक उद्योेगले ‘सुपर पोलिन’ ब्रान्डको प्लाष्टिक उत्पादन गरेर भारतीय एकाधिकार तोड्न लागेको हो । ‘सुपर पोलिन’ ब्रान्डको प्लाष्टिक उत्पादन गर्दै भारतीय ब्रान्ड ‘सिल्पोलिन’को एकाधिकार तोड्ने लक्ष्य राखेको उद्योगले जानकारी दिएको छ ।
विगत ३० वर्षदेखि विश्वभर एकछत्र राज गर्दै आएको ‘सिल्पोलिन’को विकल्पका रुपमा ‘सुपर पोलिन’ प्लाष्टिक आएको शिवम् प्लाष्टिकका निर्देशक निखिल अग्रवालले बताए । उनले कृषि फार्ममा प्रयोग हुने ‘सुपर पोलिन’ प्लाष्टिक कम्पनीले विगत ६ महिनादेखि उत्पादन सुरु गरेको जानकारी गराए । ६ महिनाको अवधिमा नै करिब २०० टन प्लाष्टिक उत्पादन गरेको छ । उद्योगले वार्षिक ८०० टन उत्पादन गर्ने लक्ष्य लिएको छ ।
भारतीय प्लाष्टिकको तुलनामा नेपाली प्लाष्टिक १० देखि १५ प्रतिशत सस्तो पर्छ । यस्तै भारतीय ‘सिल्पोलिन’भन्दा बढी टिकाउ हुन्छ । शिवम् प्लाष्टिक उद्योगले माछापालन, कृषि उत्पादनका लागि टनेल, पोल्ट्रिफार्मलगायत कृषि उद्योगमा प्रयोग हुने प्लाष्टिक उत्पादन गर्दै आएको छ ।
कम्पनीले प्लाष्टिक उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ दुबई, साउदी अरब तथा सिङ्गापुरबाट ल्याउने बताउँदै कम्पनीका निर्देशक अग्रवालले भने, ‘कच्चा पदार्थ ल्याउन हालसम्म सरकारले कुने पनि समस्या सृजना गरेको छैन ।’ सन् १९९९ मा स्थापना भएको उद्योगले यसअघि सिमेन्टका बोरा तथा त्रिपाल उत्पादन गर्दै आएको थियो । कम्पनीले उत्पादन गरेका सम्पूर्ण प्लाष्टिक आफ्नै प्रयोगशालामा परीक्षण गरेपछि मात्र बिक्रीमा पठाउने गरेको छ । यस्तै कम्पनीले १ वर्षको ग्यारेन्टी दिने गरेको र प्लाष्टिकमा कुनै प्रकारका समस्या आए तत्काल फिर्ता लिने गरेको छ ।
कम्पनीको उद्देश्य देशको ८० प्रतिशत माग धान्दै विदेश निकासीसमेत गर्ने छ । निर्यातका लागि उत्पादन बढाउन कम्पनीमा थप ९० करोडको लगानी गर्ने योजना रहेको अग्रवालले बताए । तर, पहिलो चरणको लगानी उठेपछि मात्र लगानी थप गर्ने कम्पनीको योजना भएको उनले जानकारी दिए ।