देशभर अर्ग्यानिक कोल्डस्टोर बनाउँदै गोल्यान ग्रुप, कृषिजन्य वस्तु निर्यातको लक्ष्य

काठमाडौं, पोखरा, बुटवल, धरान, चितवनलगायतका सहरी क्षेत्रमा कोल्डस्टोर निर्माण गर्ने लक्ष्यका साथ गोल्यान ग्रुप अर्ग्यानिक उत्पादनमा लागेको हो ।

झापा । उत्पादनमूलक उद्योगमा लगानी गर्दै आइरहेको गोल्यान समूहले देशभर अर्ग्यानिक कोल्डस्टोर बनाउने भएको छ । ग्रुपले ‘माटो’ ब्रान्ड स्थापना गर्दै देशभर अर्ग्यानिक कोल्डस्टोर बनाउने तयारी गरेको हो ।

काठमाडौंको सोल्टीमोडमा अहिले बन्दै गरेको कोल्ड स्टोरमा ग्रुपले आफ्नै उत्पादन बिक्री गर्ने लक्ष्यसमेत राखेको छ । काठमाडौं, पोखरा, बुटवल, धरान, चितवनलगायतका सहरी क्षेत्रमा कोल्डस्टोर निर्माण गर्ने लक्ष्यका साथ गोल्यान ग्रुप अर्ग्यानिक उत्पादनमा लागेको हो ।

गोल्यान ग्रुपले ‘माटो’ ब्राण्डलाई आवश्यक पर्ने अर्ग्यानिक फलफूल तथा तरकारीजन्य वस्तु पूर्वी नेपालको झापामा खेती सुरु गरेको छ । झापा जिल्लामा दुई सय बिगाहाभन्दा बढी जग्गामा विभिन्न प्रकारका फलफूल तथा तरकारीको अर्ग्यानिक खेती सुरु गरेको हो । ग्रुपले त्यसका लागि आवश्यक दुई सय बिगाहा जग्गा खरिद गरी पहिलो चरणको काम सम्पन्न गरिसकेको छ ।

देशका ७० प्रतिशत जनता कृषि उत्पादनमा लागे पनि कृषिमा मुलुक आत्मनिर्भर नरहेको र व्यापार घाटा कम गर्ने लक्ष्यका साथ कृषिजन्य वस्तुको उत्पादनमा लागेको गोल्यान ग्रुपका अध्यक्ष पवनकुमार गोल्यानले बताए । तत्कालका लागि कृषि आयात घटाउने र भविष्यमा निर्यात गर्ने लक्ष्यका साथ अर्ग्यानिक खेती सुरु गरिएको उनले बताए ।

गोल्यानले माटो ब्रान्डमा देश विदेशमा आफ्नो कम्पनीले व्यापार गर्ने बताए । ‘अहिले उत्पादन हुँदै आएका कृषिजन्य वस्तु रासायनिक मल तथा विषादीयुक्त हुने भएकाले त्यसलाई निराकरण गर्न अर्ग्यानिक खेती सुरु गरिएको हो,’ गोल्यानले बताए ।

ड्रागन फ्रुट, मेवा, खरबुजा, कागतीलगायतका फलफूलका बिरुवा रोप्ने तथा अदुवा, प्याज, काउली, बन्दागोभी आदि तरकारी उत्पादन गर्ने लक्ष्य लिएको छ । ‘माटो’ कोल्डस्टोरका लागि आवश्यक पर्ने वस्तु आफैंले मात्र उत्पादन गर्न नसक्ने भएकाले झापाका स्थानीयलाई अर्ग्यानिक खेती गर्न सिकाउँदै छन् गोल्यान । करिब २ करोड रुपैयाँ आफ्नै लगानी गरेर अर्ग्यानिक खेती गर्न आवश्यक प्राविधिक, बीउ तथा बिरुवासमेत उपलब्ध गराइएको छ ।

किसानलाई अर्ग्यानिक खेतीमा आबद्ध गराउन केही वर्ष घाटा भए पनि उनीहरुले उत्पादन गरेको वस्तु किन्ने योजना रहेको गोल्यानले बताए । जनता बैङ्क तथा नेपाल एसबीआई बैङ्कबाट ऋण लिएर काम सुरु गरेका उनले आगामी दिनमा एक हजार बिगाहा जग्गामा अर्ग्यानिक खेती गर्ने बताए । देशको तीन हजार उँचाइभन्दा तलको हावापानी हुने भेगमा आफ्नै कमर्सियल फार्म बनाउने गोल्यानको भनाइ छ ।

परम्परागत खेती नगर्ने गरी लिइएको दुई सय बिगाहा जग्गा तथा अन्य पूर्वाधार तयार पार्दा हालसम्म ४० करोड रुपैँया लगानी भएको र करिब २० करोड थप लाग्ने अनुमान छ । गोल्यान ग्रुपले हाल झापाको मदरगाछ, चकचके, घेराबारीमा जग्गा किनेको छ ।