सिद्धार्थ बैंकको नाफा २१ प्रतिशत बढ्यो, ६ महिनामा ८७ करोड

बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा नाफा १५ करोड ३० लाख रुपैयाँ बढेको उल्लेख गरेको छ । बैंकको खुदब्याज आम्दानी बढेर २ अर्ब २८ करोड ८८ लाख रुपैयाँ पुगेपछि नाफामा बढोत्तरी भएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ थियो ।

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा सिद्धार्थ बैंकको नाफा २१ प्रतिशत बढेको छ । गत पुससम्म बैंकले ८७ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७१ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा नाफा १५ करोड ३० लाख रुपैयाँ बढेको उल्लेख गरेको छ । बैंकको खुदब्याज आम्दानी बढेर २ अर्ब २८ करोड ८८ लाख रुपैयाँ पुगेपछि नाफामा बढोत्तरी भएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ थियो ।

बैंकको खराब कर्जा अनुपात १.६४, निक्षेप लागत ७.४२, कर्जा निक्षेप अनुपात ७८.७७ र आधार दर १०.५९ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ ७० पैसा पुगेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप बढेर १ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप ८५ अर्ब ५६ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा बैैकले निक्षेप झण्डै १७ अर्ब रुपैयाँ बढाएको छ ।

यस्तै बैंकको कर्जा लगानी पनि विस्तार भई ९७ अर्ब ५० करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी ७६ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ थियो । बैंकको संचित कोषको आकार बढेर ५ अर्ब १९ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।