अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सवारी कर्जामा ठूलो रकम गएको र उत्पादनमूलक उद्योगमा आवश्यक लगानी हुन नसकेको बताइरहेका बेला एनएमबीले यस्तो निर्णय गर्न लागेको हो ।
काठमाडौं । एनएमबी बैङ्कले ५० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने सवारी साधनमा ऋण लगानी नगर्ने भएको छ । सरकारले सवारी कर्जामा कडाइ गर्ने नीति अख्तियार गरिरहेका बेला एनएमबी बैङ्कले सरकारलाई सहयोग पुग्ने गरी बढी मूल्यका सवारी साधनमा ऋण लगानी नगर्ने नीति लिएको हो ।
नेपाल राष्ट्र बैङ्कले पछिल्लो समय सवारी साधन खरिद गर्दा ५० प्रतिशत अग्रीम भुक्तानी (डाउन पेमेन्ट) गर्ने व्यवस्था गरेको छ । यस आधारमा हेर्दा एनएमबी बैङ्कले अब गाडी किन्दा अधिकतम २५ लाख रुपैयाँ मात्रै ऋण लगानी गर्ने छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सवारी कर्जामा ठूलो रकम गएको र उत्पादनमूलक उद्योगमा आवश्यक लगानी हुन नसकेको बताइरहेका बेला एनएमबीले यस्तो निर्णय गर्न लागेको हो ।
छोटो समयमा धेरै नाफा कमाउने उद्देश्यले बैङ्कहरुले सवारी साधनमा धेरै ऋण प्रवाह गरेका हुन्छन् । अन्य क्षेत्रको तुलनामा यो क्षेत्र बढी सुरक्षित हुनुका साथै धेरै नाफा आर्जन गर्न सहज हुने भएकाले सवारी कर्जामा बैङ्कहरु आकर्षित भएका हुन् ।
देशभित्र उद्योग र कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) निरन्तर ओरालो लागिरहेको छ । तर, बैङ्कहरु उत्पादनमूलक उद्योग स्थापना गर्नभन्दा पनि सवारी कर्जा बढाउन लागेपछि एनएमबी बैङ्कले साहसिक निर्णय गर्न लागेको हो ।
एनएमबी बैङ्कले सवारी कर्जा घटाउने र कृषि तथा उद्योगतिर कर्जा बढाउने भएको हो । ‘बैङ्कहरुले नाफा मात्रै हेर्न हुन्न,’ बैङ्कका एक सञ्चालकले भने, ‘देशको अर्थतन्त्र बलियो बनाउनेतर्फ बैङ्कहरुले सोच्नुपर्छ । हामीले त्यही गरेका हौं ।’
अर्थ मन्त्रालयले गाडीको मूल्यअनुसार कर्जा उपलब्ध गराउन राष्ट्र बैङ्कमार्फत सर्कुलर जारी गर्ने सम्भावना बढेपछि एनएमबी बैङ्कले कर्जाको क्षेत्र उत्पादनमूलक र कृषितर्फ बढाएको हो ।