वाणिज्य बैङ्कको सेवा अब ७७ जिल्लामा

बैङ्कको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई आजै ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ । यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैङ्कले अघि सारेको छ । नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौंँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा सुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैङ्कले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो ।

जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गरे ।

बैङ्कको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई आजै ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ । यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैङ्कले अघि सारेको छ । नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

विसं २०२२ मा आजकै दिन स्थापित बैङ्कको ५४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सबल र कमजोर पक्षलाई समीक्षा गर्दै नेपाल राष्ट्र बैङ्कको निर्देशनानुसार जनताको सेवामा चुस्त भएर लाग्न आग्रह गरे ।

उनले सहुलियत कर्जा दिने विषयमा गम्भीर बन्न आग्रह गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैको सहयोगको खाँचो औँल्याए । ‘युवा स्वरोजगार, कृषि, पशुपालन र महिला उद्यमका क्षेत्रमा बैङ्कहरुले सहयोग गर्नुपर्छ, त्यसबाट राष्ट्रिय उत्पादनमा योगदान पुग्छ, यसतर्फ ध्यान पुगोस्,’ कावा प्रम पोखरेलले भने । रक्षामन्त्रीले युवालाई प्रोत्साहन गरी विदेशिएका जनशक्तिलाई फर्काउन सरकारले नीति मात्रै नभई व्यावहारिक योजना अघि बढाएको समेत जानकारी दिए ।

कार्यक्रममा राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले हाम्रासामु केही चुनौती रहे पनि विकासका लागि अर्थतन्त्र सक्षम छ भन्दै कर्जा र निक्षेपमा असन्तुलन रहेकाले यसतर्फ बैङ्क तथा वित्तीय संस्थाको ध्यानाकर्षण गराए । उनले सहुलियत कर्जाका विषयमा सर्वसाधारणबाट विभिन्न गुनासा आइरहेकाले अब जानकारी छैन, माथिको निर्देशन आएन भनेर आलटाल गर्न खोज्ने बैङ्कलाई कारबाही गरिने चेतावनीसमेत दिए ।

पछिल्लो समयमा आयात ३४ र निर्यात ११ प्रतिशतले बढेकामा ठूलो चुनौती देखिएको उल्लेख गर्दै शिवाकोटीले विलासिता र महँगा गाडी, हीरा र सुन आयात नियन्त्रण गर्नुपर्ने औँल्याए । उनले बुधबार मात्रै राष्ट्र बैङ्कले विदेश जानेको हकमा डलर सटही ५०० बाट २०० मा झारेको जानकारी दिए । उनका अनुसार हाल नेपालमा कर्जा लिनेको सङ्ख्या १३ लाख ३३ हजार र ५८ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् ।

वाणिज्य बैङ्क सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारी बैङ्क सबैको भरोसाको बैङ्क भएकाले सेवा उपलब्ध गराउने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०६० सालमा २२ अर्ब रुपैयाँ ऋणात्मक रहेको बैङ्कको पुँजीकोष गत पुस मसान्तसम्म २२ अर्बले धनात्मक भएको जानकारी दिए । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म बैङ्कको निक्षेप एक खर्ब ८२ अर्ब र कर्जा लगानी एक खर्ब ३४ अर्ब रुपैयाँ रहेको एवम् ट्रेजरी बिल तथा अन्य लगानी ४५ अर्ब रहेको श्रेष्ठले जानकारी दिए ।

बैङ्कको कुल सम्पत्ति दुई खर्ब चार अर्ब रुपैयाँ पुगेको जानकारी दिँदै उनले यस पटकको खुद नाफा एक अर्ब ९६ करोड रुपैयाँ रहेको उल्लेख गरे । आज सार्वजनिक विवरणानुसार वाणिज्य बैङ्कमा ३० लाखभन्दा बढी ग्राहक पुगेका छन् । सात लाख ५० हजारभन्दा बढीले मोबाइल बैङ्किङ एप्लिकेसन प्रयोग गरिरहेका छन् ।