ग्लोबल आईएमई बैंकको नाफा २५.४५ प्रतिशत बढ्यो, ६ महिनामा १२३ करोड पुग्यो

बैंकको खुदब्याज आम्दानी पनि बढेर २ अर्ब ३८ करोड १० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ थियो । ब्याज आम्दानीमा भएको वृद्धिले नाफामा बढोत्तरी भएको हो ।

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आईएमई बैंकको नाफा २५.४५ प्रतिशत बढेको छ । गत पुससम्म बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९७ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको सोही अवधिको तुलनामा चालु आवको ६ महिनामा नाफा २५ करोड रुपैयाँ बढाएको उल्लेख गरेको छ । बैंकको खुदब्याज आम्दानी पनि बढेर २ अर्ब ३८ करोड १० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ थियो । ब्याज आम्दानीमा भएको वृद्धिले नाफामा बढोत्तरी भएको हो ।

गत पुससम्म बैंकको निष्क्रिय कर्जा अनुपात घटेर ०.७५ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ७.५७ कर्जा निक्षेप अनुपात ७९, आधार दर १० र ब्याजदर अन्तर ३.८१ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८५ पैसा छ ।

गत पुससम्म बैकले १ खर्ब १३ अर्ब १७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब रुपैयाँ थियो । यस्तै बैकले १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा ८६ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । बैंकको संचित कोषको आकार बढेर ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।