निजी लगानीमा २२ मेगावाटको काबेली तेस्रो आयोजना निर्माण हुँदै, चार वर्षभित्र बिजुली

आयोजनाबाट उत्पादन हुने बिजुली सुक्खायायमको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खाको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । आयोजना बनाउन ४ अर्ब ५० करोड रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ ।

काठमाडौं : निजी लगानीमा २२ मेगावाटको काबेली तेस्रो जलविद्युत् आयोजना निर्माण हुने भएको छ । काबेली हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो । आयोजना ४ वर्षभित्र अर्थात् ०७९ पुस १ गते सम्पन्न गर्ने कम्पनीका सञ्चालक मोहन डाँगीले बताए ।

एक वर्षभित्र वित्तीय व्यवस्थापन, विस्तृत इन्जिनियरिङ र ठेकेदार छनोटलगायत काम सकेर आयोजना निर्माण थाल्ने उनले जानकारी दिए । आयोजनाका लागि आवश्यक वित्तीय व्यवस्थाको काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेकाले अब लगानी जुटाउने काम अघि बढेको उनले सुनाए ।

आयोजनाबाट उत्पादन हुने बिजुली सुक्खायायमको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खाको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । आयोजना बनाउन ४ अर्ब ५० करोड रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ ।

नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट सुक्खायाममा समेत ३४.४९ प्रतिशत ऊर्जा उत्पादन गर्ने डाँगीले बताए । यस्तै बर्खामा ६५.५१ प्रतिशत रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ७० लाख ६४ हजार युनिट बिजुली उत्पादन हुनेछ ।

वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि हुँदा आयोजनाले थप १ अर्ब २ करोड रुपैयाँ आम्दानी गर्ने उनले बताए । आयोजना ताप्लेजुङमा पर्छ । आयोजना आर्थिक रुपमा आकर्षक देखिएको उनको भनाइ छ । कम्पनीले सरकारको बास्केटमा भएको आयोजना प्रतिमेगावाट १० लाख रुपैयाँ तिरेर अनुमतिपत्र (लाइसेन्स) लिएको हो । आयोजनामा शिक्षाक्षेत्रका व्यक्तिको लगानी छ ।

आयोजनामा डाँगीका अलवा जेम्स स्कुलका संस्थापक राजेश खड्का, भीएस निकेतनका बबिन पोखरेललगायत ४ जनाको लगानी छ । ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी लगानी हुने डाँगीले बताए ।