सोमबार आयोजित एक कार्यक्रममा चिनियाँ राजदूत हाउ यान क्षीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकको साँचो हस्तान्तरण गरेकी हुन् ।
काठमाडौं । चीन सरकारले निर्माण गरेको कलङ्की—कोटेश्वर सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा चिनियाँ राजदूत हाउ यान क्षीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकको साँचो हस्तान्तरण गरेकी हुन् ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको धुलो र जाम हटाउन रिङरोड महत्त्वपूर्ण हुने भन्दै तोकिएको समयभित्र निर्माण गरेर हस्तान्तरण गर्ने चीन सरकारलाई धन्यवाद दिए । उनले आम जनताले सडकको सास्ती खेप्न नपर्ने अवस्था सिर्जना गर्न सरकारले यातायात तथा सडकमा लगानी गरेको बताए ।
हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चीन सरकार र नेपाल सरकारबीच सडक निर्माण तथा अन्य भौतिक पूर्वाधार निर्माणमा दीर्घकालीन सहयोग आवश्यक रहेको बताए ।
चीनको साङ्घाई कन्ट्रक्सन कम्पनीले सो सडक निर्माण गरेको हो । विसं २०७० सालमा सुरु गरी २०७३ फागुनसम्म सम्पन्न गर्ने गरी साङ्घाईले सडक निर्माण सुरु गरेको थियो । सडक निर्माणमा केही ढिला भएपछि गत २०७५ असारसम्म म्याद थपिएको थियो । त्यसपछि दोस्रो म्याद २०७५ मङ्सिर मसान्तमा सो कम्पनीले सडक निर्माण सम्पन्न गरेको हो ।
निर्माण सम्पन्न गरेको झन्डै डेढ महिनापछि चीन सरकारले सडक हस्तान्तरण गरेको हो । १०.४ किलोमिटर लम्बाइ रहेको उक्त सडकमा ५ अर्ब रुपैयाँ खर्चिएको चिनियाँ कम्पनीले जनाएको छ ।
३ ओटा आकासेपुल, एउटा अन्डरपास, ८ ओटा पुल र एक–एक मेन ट्रयाक र सहायक ट्रयाक बनेका छन् । निर्माण भएको सडकमा ६ ओटा सर्भिस ट्रयाक, ट्राफिक लाइट, ट्राफिक सन्देश, वृक्षरोपण र अन्य संरचनाहरु नेपाल सरकारले बनाउने सडक विभाग वैदेशिक महाशाखा प्रमुख केशवकुमार शर्माले जानकारी दिए ।