संघीय संसदको प्रविधि तथा विकास समितिको बैठकमा बोल्दै खानेपानी सचिव गजेन्द्र ठाकुरले विशेष परिस्थितिमा गएर मन्त्रिपरिषद्बाट निर्णय गरार्इ सब कन्ट्र्याक्टरमार्फत काम गराइने बताए ।
काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम विशेष प्रक्रियामा गएर सब कन्ट्र्याक्टरमार्फत अघि बढाउने भएको छ । संघीय संसदको प्रविधि तथा विकास समितिको बैठकमा बोल्दै खानेपानी सचिव गजेन्द्र ठाकुरले विशेष परिस्थितिमा गएर मन्त्रिपरिषद्बाट निर्णय गरार्इ सब कन्ट्र्याक्टरमार्फत काम गराइने बताए ।
ठेकेदार आफ्नै कारणले भागेको र बाँकी काम पूरा गर्न सरकारले नीतिगत व्यवस्था गरेर फास्ट ट्रयाकमा अघि बढाइने उनको भनाइ छ ।
समितिमा बोल्ने अधिकांश सदस्यले मेलम्चीको अन्योलता, देखिएका समस्या र बाँकी काम र प्रक्रियाबारे जिज्ञासा राखेका थिए ।
बैठकमा समिति सभापति कल्याणी खड्काले मेलम्चीबारे उच्चपदस्थ कर्मचारीले समितिमा गलत सन्देश गराएकोप्रति खानेपानी सचिवलाई प्रश्न गरिन् । उनले मेलम्ची सम्पन्न गर्न र पछिल्लो अन्योलता हटाउन मन्त्रालय र आयोजना गम्भीर नभएको आरोप लगाइन् ।
इटालियन ठेकेदार सीएमसी कम्पनी भागेपछि मेलम्ची आयोजना अन्योलमा छ ।
माघ २० गतेसम्म काममा फर्कन आयोजनाले सीएमसीलार्इ अल्टिमेटम दिएको छ । त्यति बेलासम्म पनि सीएमसी नआए ठेक्का रद्द हुनेछ । कम्पनीका नाममा रहेको धरौटीबापत रकमसमेत सरकारले जफत गर्नेछ ।