४० मेगावाटको खानीखोला १ आयोजनाबाट चैतदेखि बिजुली उत्पादन हुने, प्रतिमेगावाट लागत १६ करोड

विद्युत् प्राधिकरणसँग आउँदो चैतसम्म बिजुली उत्पादन गर्ने गरी विद्युत् खरिदबिक्री सम्झौता भएको कम्पनीले जानकारी दिएको छ । बिजुली उत्पादन सुरु भएपछि यस वर्ष आम्दानी हुने कम्पनीले जानकारी दिएको छ । यस वर्ष बिजुली उत्पादनबाट मात्रै २७ करोड ५५ लाख रुपैयाँ आम्दानी हुने कम्पनीको प्रक्षेपण छ ।

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत् आयोजनाबाट आउँदो चैतदेखि बिजुली उत्पादन हुने भएको छ । आयोजनाको काम चैतमा सक्ने लक्ष्य लिएको प्रवद्र्धक ग्रिनलाइफ इनर्जी लिमिटेडले जनाएको छ ।

विद्युत् प्राधिकरणसँग आउँदो चैतसम्म बिजुली उत्पादन गर्ने गरी विद्युत् खरिदबिक्री सम्झौता भएको कम्पनीले जानकारी दिएको छ । बिजुली उत्पादन सुरु भएपछि यस वर्ष आम्दानी हुने कम्पनीले जानकारी दिएको छ । यस वर्ष बिजुली उत्पादनबाट मात्रै २७ करोड ५५ लाख रुपैयाँ आम्दानी हुने कम्पनीको प्रक्षेपण छ ।

यस्तै आगामी वर्ष ६४ करोड ९४ लाख र आर्थिक वर्ष ०७७÷०७८ मा आम्दानी बढेर ८५ करोड २१ लाख पुग्ने अनुमान ग्रिनलाइफको छ । यो वर्ष नै कम्पनीले १ करोड रुपैयाँ खुदनाफा गर्ने अनुमान गरेको छ । आगामी वर्ष ३ करोड ८२ लाख र ३ वर्षमा बढेर १२ करोड ८० लाख पुग्ने प्रक्षेपण ग्रिनलाइफको छ ।

आयोजना बनाउन ६ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १५ करोड ९८ लाख रुपैयाँ हुने छ । आयोजनाबाट ७ वर्ष ४ महिनामा लगानी फिर्ता हुने छ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षभित्र सम्पन्न हुने आयोजनाको सूचीमा राखेको छ ।

२०६७ देखि आयोजनाको काम सुरु भएकोमा हालसम्म जारी रहेको कम्पनीले जनाएको छ । विदेशी विनिमय दरमा भएको परिवर्तनले इलेक्ट्रोमेकानिकल र पेनस्टक पाइप खरिदमा १० करोड रुपैयाँसम्म जोखिम बढ्ने कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख गरेको छ । आयोजना ढिलाइ हुने सम्भावना र मूल्यवृद्धिको जोखिम नरहेको कम्पनीले स्पष्ट पारेको छ ।

आयोजना दोलखा जिल्लाको गौरिशङ्कर गाउँपालिका भएर बग्ने खानीखोलामा हनापु र नाप्केखोलाको पानी मिसाई बिजुली उत्पादन हुने छ । ग्रिनलाइफले माघ २२ गतेदेखि आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यसपछि फेरि १० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको आईपीओ सर्वसाधारणलाई निष्कासन गर्ने छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब ८० करोड रुपैयाँ पुग्ने छ ।

चालू आर्थिक वर्षमा सार्वजनिक निजी साझेदारीमा साना तथा ठूला १८ आयोजना सम्पन्न भई प्रणालीमा २३६ मेगावाट बिजुली थप हुने भएको छ । सार्वजनिक क्षेत्रअन्तर्गत विद्युत् प्राधिकरणले बनाइरहेको १४ मेगावाटको कुलेखानी तेस्रो र बाँकी निजी क्षेत्रबाट १७ आयोजना सम्पन्न भई २२२ मेगावाट बिजुली थप हुने भएको हो ।