३ अर्ब खर्चेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा निर्माण हुने सम्झौतामा बुधबार आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको छ । 

काठमाडौं । भरतपुर महानगरपालिका चितवनमा ३ अर्ब रुपैयाँभन्दा बढी लागतमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने भएको छ ।

भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा निर्माण हुने सम्झौतामा बुधबार आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले रङ्गशाला निर्माणको घोषणा गरेका छन् । उक्त अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतको सहभागिता थियो ।

त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान सङ्कायअन्तर्गत रहेको २० बिघा ६ कठ्ठा जमिनमा रङ्गशाला बन्नेछ । ६ महिनाभित्रमा सम्पूर्ण पूर्वाधार तयार गरी २ वर्षभित्रमा काम सम्पन्न गरी महानगरपालिकालाई जिम्मा दिने फाउन्डेसनको तयारी छ ।