लगानीकर्ता नागरिक लगानी कोषमा झुम्मिए, बिहीबार सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

साताको अन्तिम दिन बिहीबार लगानी कोषको प्रतिकित्ता २ हजार ७६४ रुपैयाँमा ३ करोड ९६ लाख ३८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार कोषको १४ हजार २२१ कित्ता सेयर कारोबार भएको छ । पछिल्लो समयमा कोषको सेयर बढी कारोबार हुदै आएको छ ।

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेका बेला लगानीकर्ता नागरिक लगानी कोषमा झुम्मिएका छन् । साताको अन्तिम दिन बिहीबार लगानी कोषको प्रतिकित्ता २ हजार ७६४ रुपैयाँमा ३ करोड ९६ लाख ३८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार कोषको १४ हजार २२१ कित्ता सेयर कारोबार भएको छ ।

पछिल्लो समयमा कोषको सेयर बढी कारोबार हुदै आएको छ । बिहीबार कुल २७ करोड ३३ लाख रुपैयाँ बराबेको सेयर किनबेच भएको छ । कोषको पुँजी वृद्धि भई ८ अर्ब रुपैयाँ पुग्ने भएपछि लगानीकर्ताले कोषको सेयर किन्न थालेका हुन् । यस्तै नेपाल धितोपत्र बोर्डले कोषलाई बजार निर्माता र सेयर डिलरको काम गर्न खुला गरेको, हरेक वर्ष आकर्षक बोनस दिएको र वित्तीय प्रगति राम्रो भएपछि लगानीकर्ताको आकर्षण कोषमा भएको हो ।

कोषले आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिएको छ । कोषले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएको हो । गत आवमा कोषले २९ करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको थियो । चालु आर्थिक वर्षको असोजसम्म कोषको आकार १ खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको छ ।

बिहीबार बजार १ अंकले बढेर नेप्से परिसुचक १ हजार १६१ अंकमा पुगेको छ । बैंक तथा वित्तीय संस्था, होटल र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य बढेको छ भने व्यापार, जलविद्युत, वित्त र फाइनान्स कम्पनीको घटेको छ ।

बिहीबार चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र पुर्णिमा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस्तै सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड र सानिमा इक्विटी फण्डका लगानीकर्ताले गुमाएका छन् ।