बैङ्कले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तुलनामा यो आवमा नाफा १४ करोड ७१ लाख रुपैयाँ बढेको छ ।
काठमाडौं । एनएमबी बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १५.२८ प्रतिशत बढाएको छ । बैङ्कले गत पुससम्म १ अर्ब १० करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैङ्कले ९६ करोड २७ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
बैङ्कले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तुलनामा यो आवमा नाफा १४ करोड ७१ लाख रुपैयाँ बढेको छ । गत पुससम्म बैङ्कको खुद ब्याज आम्दानी बढेर २ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब ३४ करोड रुपैयाँ थियो ।
निष्क्रिय कर्जा ०.७६, निक्षेप लागत ७.३२, प्राथमिक पुँजी,कर्जा निक्षेप अनुपात ७८.९५, आधार दर १०.११ प्रतिशत रहेको बैङ्कले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ५५ पैसा रहेको बैङ्कले जानकारी दिएको छ ।
समीक्षा अवधिमा बैङ्कले ८८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८५ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैङ्कको निक्षेप ८० अर्ब ५५ करोड रुपैयाँ र कर्जा लगानी ७० अर्ब २२ करोड रुपैयाँ थियो । बैङ्कको सञ्चित कोषको आकार बढेर ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।